काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आज (बुधबार) भारतीय अभिनेता सलमान खानसँग भिडियो संवाद गर्दै छन्। जेठ १८ गते काठमाडौंको दशरथ रंगशालामा हुने सलमान खानको कार्यक्रम ‘दबङ लाइभ इन नेपाल’ कार्यक्रमको तयारीका लागि आज नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले खानसँग संवाद गर्दैछन्।
ओडिसी इन्टरटेनमेन्टले जेठ १४ मा आयोजना गरेको कार्यक्रमका निम्ति भारतीय अभिनेता खान नेपाल आउँदै छन्। खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा आज मन्त्री आले खानसँग संवाद गर्दै छन्।
ओडिसी इन्टरटेनमेन्टले यसअघि पनि सलमान खानलाई नेपालमा ल्याउने भनेको थियो। तर, विभिन्न विवादका कारण उनी नेपाल आउन सकेनन्। २०७४ मा खानको टुँडीखेलमा सांगीतिक कार्यक्रमका लागि आउने तय भए पनि तत्कालीन भूमिगत नेत्रविक्रम चन्द ‘विकल्प’को समूहले धम्क्याएपछि उनको कार्यक्रम स्थगित गरिएको थियो।
हाल भने खान नेपाल आउने पक्का भएको छ। जेठ १८ मा हुने कार्यक्रममा उनीसँगै अन्य भारतीय कलाकार पनि आउन बताइएको छ। बुधबार मन्त्री आले र खानसँग हुने भिडियो संवादमा खानले नेपालका सञ्चारकर्मीले सोध्ने प्रश्नको पनि जवाफ दिने बताइएको छ।
ओडिसी इन्टरटेनमेन्टले विभिन्न समयमा नेपालमा विदेशी कलाकारलाई ल्याएर कार्यक्रम गर्दै आएको छ। ओडिसीले नै १० वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई नेपालमा ल्याएर हालसम्मकै ठूलो सांगितिक कार्यक्रम गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।