काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधारका लागि सबै शैक्षिक कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको छ । विश्वविद्यालयको पठनपाठन प्रभावकारी बनाउने, परीक्षा प्रणाली व्यवस्थित गर्ने र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यस्तो तयारी अघि बढाइएको हो ।
शुक्रबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको छलफलमा त्रिविका पदाधिकारी र मन्त्रालयका अधिकारीबीच विश्वविद्यालयको शैक्षिक सुधारका विषयमा छलफल भएको थियो ।
छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, शिक्षाध्यक्ष प्राडा अञ्जना सिंह, रजिस्ट्रार सहप्राडा रविन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विभिन्न संकायका डीन सहभागी थिए ।
छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको थियो ।
शिक्षामन्त्रीका सल्लाहकार झाले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने बताउँदै विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) लागू गर्नुपर्नेमा जोड दिए । उनले सम्बन्धन वितरणमा संख्यात्मक विस्तारभन्दा शैक्षिक गुणस्तरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
त्रिविबाट सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशाला अनिवार्य हुनुपर्ने उनको भनाइ थियो । क्याम्पसको दीगोपन, शैक्षिक वातावरण र गुणस्तर कायम गर्न विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने उनले बताए ।
त्यस्तै, त्रिविको संस्थागत ब्रान्ड स्थापित गर्ने, अनुसन्धानमूलक गतिविधि बढाउने, शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने तथा नयाँ शैक्षिक कार्यक्रम र सम्बन्धन वितरणलाई मापदण्डमा आधारित बनाउने विषयमा पनि छलफल भएको थियो ।
विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने विषयलाई समेत प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइएको थियो ।
उपकुलपति थापाले त्रिविको शैक्षिक गुणस्तर सुधार गरी विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र (सेन्टर फर एक्सिलेन्स) का रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताए । उनले नेपालको उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरेर विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता जनाए ।
मन्त्रालयका सहसचिव भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताए । यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।