काठमाडौं– ललितपुरको कुपण्डोल बस्दै आएकी वीरगञ्जकी गोमा तिवारीले बुटिक व्यवसाय सुरु गरेको तीन वर्ष भयो। तिवारीले व्यवसाय थाल्नु र कोरोना महामारी सुरु हुनु एकैपटक भयो। व्यवसाय थालेको दुई महिना नपुग्दै लकडाउन भयो। उनलाई 'पहिलो गाँसमै ढुंगा' भनेजस्तै भयो। तर, उनले हरेस खाइनन्।
‘कोरोनाका कारण त्यति लामो समय लकडाउन हुन्छ भनेर सोचेको पनि थिइनँ। व्यवसाय सञ्चालन गर्ने सबै तयारी भइसकेको थियो। व्यवसाय सुरु गरेपछि केही समय त निल्नु न ओकल्नु जस्तो भयो’, उनले भनिन्, ‘भाडा महंगो, व्यवसाय ठप्प। इन्डियाबाट आएका कारीगरहरुलाई पनि तलब दिनुपर्यो। कहाँबाट ल्याउने? एकदमै समस्या भएको थियो।’
तर, यस्तो अवस्था आउँदा पनि हिम्मत नहारी काम गरेको तिवारी बताउँछिन्। ‘अहिले पनि कोरोनाको असर त हटेको छैन। व्यवसाय चाहिँ केही बढेको छ। बुटिकको व्यवसाय भनेको बिहेको सिजनमा चल्ने व्यवसाय हो।’ उनी भन्छिन्, ‘महंगीका कारण व्यवसाय बचाउन अझै पनि सजिलो छैन। पटक–पटक हुने कर वृद्धिले गर्दा आउने ग्राहकलाई पनि सोच्याजस्तो सेवा दिने सम्भावना कम भएको छ।’
नयाँ व्यवसाय र कोरोनाले धेरै चुनौतीको सामना गर्न सिकाएको उनी बताउँछिन्। अन्य व्यवहारिक कामले पनि समस्या हुने उनको भनाइ छ। उनी भन्छिन्, ‘म विवाहित महिला, घरको काम गर्नैपर्यो। सानो बच्चाको पनि ख्याल राख्नु पर्यो। सँगसँगै पढाइ अगाडि बढाउनु पर्यो। यस्ता चुनौतीको सामना गर्नु सानो कुरा थिएन।’
मध्यम वर्गीय परिवारमा जन्मिएकी तिवारीसँग साहस र क्षमता दुवै छ। उनले गरेको संघर्षले उद्यम क्षेत्रमा आउन महिलालाई उत्साहित गर्छ। उनी भन्छिन्, ‘उद्योग क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा चुनौती छ। यसैले आफूले जे गर्न सकिन्छ त्यो कामलाई चुनौतीभन्दा पनि अवसर र कर्तव्यको रुपमा स्वीकार गर्न सक्यो भने यसले आफूलाई आत्मविश्वासी बनाउन मद्दत गर्छ।’
सानो हुँदा उनी आमाको कमाइमा हुर्किएकी हुन्। आमाले गरेको संघर्षले आफूलाई पनि प्रेरणा मिलेको उनको भनाइ छ। ‘हाम्रो पालनपोषण आमाले गर्नु भएको हो। यसकारण माइतीघरको वातावरण छोरीलाई पनि केही बनाउनु पर्छ, आफ्नो खुट्टामा आफैं उभिन सिकाउनु पर्छ भन्ने खालको थियो।’
छोरीको आमा बनेर पनि सिप सिक्न पाएकोमा उनी खुशी छन्। उनले फेसन डिजाइनको कोर्ष बिहेपश्चात नै गरेकी हुन्। ‘नेपालमा मात्र यो कोर्ष गरेर पुगेन। बाहिर जाने सोच आयो। बाहिर हाम्रो हरेक कुरा मिल्ने ठाउँ इन्डिया नै थियो। त्यहीँ गएँ’, उनले भनिन्।
तिवारीले सन् २०१९ मा नयाँ दिल्लीको आईआईएफटी नर्थ क्याम्पसबाट फेसन डिजाइनको कोर्ष पूरा गरिन्। नयाँ दिल्लीमा पढ्दा त्यहीँ बुटिक चलाएकी थिइन्। नेपालभन्दा भारतमा फेसन धेरै अगाडि बढेको हुँदा त्यहाँका ग्राहक सचेत भएको उनी बताउँछिन्। उता गुणस्तरीय उत्पादनले मूल्य पनि राम्रो पाउने उनको भनाइ छ।
‘इन्डियाका अधिकांश मान्छेलाई कुन ड्रेस कस्तो सामग्रीबाट बनेको हुन्छ भन्ने थाहा हुन्छ’, उनी भन्छिन, ‘ग्राहक आउँछन्। मन परेको सामान लिएर जान्छन्। तर, नेपालमा अझै पनि फेसनलेबल ड्रेस लगाउने मान्छे कम नै छन्। उनीहरुलाई बुझाउन र नयाँ डिजाइनका कपडा सबैको पहुँचमा पुर्याउन नै मैले यो व्यवसाय सञ्चालन गरेको हो।’
तिवारीका अनुसार मान्छेमा अहिले पनि डिजाइनर कपडा भनेको महंगो तथा कमाइले नधान्ने कपडा भन्ने सोच राख्छन्। यस्तो सोच परिवर्तन गराउने उद्देश्यले आफूले काम थालेको उनको भनाइ छ।
‘अहिले नेपालमा भइरहेको तरलता अभाव, चर्को ब्याजदर, सरकारले घरिघरि बढाउने भन्सारको रेटजस्ता कुराले बुटिक व्यवसायीलाई पनि मारमा पारेको छ। हामीले मानिसको चाहना अनुसारको ड्रेस भनेको मूल्यमा तयार पार्न सक्दैनौं’, तिवारी भन्छिन्, ‘यो कुरा ग्राहकले पनि बुझ्नुभएको होला। विस्तारै यो अवस्थाको अन्त्य हुन्छ। मैले सामान्यदेखि सबैभन्दा धेरै मूल्य भएका प्रोडक्टहरु बनाउने योजना बनाएको छु। सानो खर्च गरेर पनि मानिसले आफ्नो आवश्यकता पूरा गर्न सकुन् भन्ने मेरो चाहना छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।