काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गुरु घिमिरेले संसारका कीर्तिमान भंग हुनेगरी पार्टी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको टिप्पणी गरेका छन्।
काठमाडौंमा बुधबार आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टीले सबैभन्दा लामो बैठक जम्मा २३ दिन बैठक बसेको उल्लेख गर्दै आफ्नो पार्टीको बैठक भने डेढ महिनासम्म चल्दा पनि निष्कर्ष निस्कन नसकेको बताए।
‘संसारमा सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीको बसेको रहेछ। जम्मा २३ दिन। हाम्रो डेढ महिना पुग्दैछ,’ घिमिरेले भने, ‘संसारका कीर्तिमान हामीले भंग गरेर केन्द्रीय कार्यसमितिको बैठक बसिसक्दा पनि असोज २८ गते सुरु भएको बैठक, आज महिनाको हिसाबले त (असोज, कात्तिक, मंसिर) महिना गणना गर्दा त तीन महिना र दिन हिसाब गर्दा डेढ महिना बस्दा पनि हामी निष्कर्षमा पुग्न सकेका छैनौं।’
उनले २४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर केन्द्रीय कार्यालयमा आफूहरूले बुझाएको बताए।
उनले भने, ‘हामीले झन्डै ५५ प्रतिशत प्रतिनिधिको हस्ताक्षरको दस्तावेज बुझाइसकेका छौँ। कार्यवाहक सभापतिलाई बझाउँदै भन्यौँ, यो विधान विपरीत कार्य होइन, यो बिपी कोइराला र सुवर्णसम्शेरले प्रयोग गरेको बाटो हो। विधानले देखाएको विकल्प हो।’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि (बिहीबार) बस्ने भनिएको छ। तर, भोलिको बैठक पनि सर्ने हल्ला भएको उल्लेख गर्दै पार्टीमा बैठक बस्ने भन्दा सर्ने हल्ला नै सावित हुँदै आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।