काठमाडौं– बिहीबार बिहान अमेरिकाको पोएर्टोरिकोमा भएको ७०औं मिस वर्ल्ड प्रतियोगितामा पोल्याण्डकी सुन्दरी क्यारोलियना बेइलावस्काले उपाधी हात पारेकी छिन्। अमेरिकाकी श्री साइनी र कोटे डी आइभोरकी ओलिभिया एससँग फाइनलमा प्रतिस्पर्धा गरेकी बेइलावस्काले उपाधी उचालिन्।
गत संस्करणकी विजेता टोनीएन सिङले उनलाई ताज पहिराएसँगै ‘मिस वर्ल्ड २०२१’को उपाधी उनको हात परेको छ। फाइनलमा सँगै रहेका अन्य दुई प्रतिस्पर्धिमा अमेरिकाकी साइनी फर्स्ट रनरअप र कोटे डी आइभोरकी एस सेकेण्ड रनरअप भएकी छिन्। ४० जना प्रतिस्पर्धिबीच भएको प्रतियोगितामा उनले मिस नेपालको ताज उचालेकी हुन्।
मिस वर्ल्ड बनेकी पोल्याण्डमा जन्मिएकी बेइलावस्का हाल व्यवस्थापन विषयमा मास्टर्स डिग्री गरिरहेकी छिन्। आफ्नो अध्ययनलाई विद्यावारिधीसम्म लैजाने बताउने उनी मोडलको रुपमा पनि काम गरिरहेकी छिन्।
स्विमिङ र स्कुवा डाइभिङ गर्न मन गर्ने उनी टेनिस र ब्याडमिन्टनजस्ता खेल खेल्नमा पनि उत्तिकै रुचि राख्छिन्। उनी भन्छिन्, ‘भविष्यमा मलाई कुनै दिन मोटिभेसनल स्पिकर बन्न मन छ।’
मिस वर्ल्डमा ‘ब्युटि विथ प्रपोज’ प्रोजेक्ट अन्तर्गत उनले ‘जुपा ना पेइट्राइनिइ’ नामको काम गरेकी थिइन्। उक्त प्रोजेक्टमा उनले घरविहीन मानिसहरुलाई निरन्तर सहयोग गर्ने र बढिरहेको यो समस्यालाई लिएर अवधारणा जगाउने काम गरेकी थिइन्।
हरेक आइतबार उनीहरुले पोल्याण्डको एक शहर लोड्जमा खाना, पेय पदार्थ, कपडा, मास्क, कानुनी परामर्श, चिकित्सकीय सेवालगायतका सहयोगमार्फत ३ सयभन्दा धेरै आवासविहीन मानिसहरुलाई सहयोग गरेका थिए।
कोभिड भ्याक्सिनको पहुँचमा नरहेका उनीहरुलाई बेइलावस्का र उनको समूहले सरकारसँगको समन्वयमार्फत भ्याक्सिन उपलब्ध गराएको थियो, जसमा उनीहरुले चार सयभन्दा धेरैलाई खोप लगाउन सफल भएका थिए।
मिस वर्ल्डको उपाधी जितेर पूर्वमिस वर्ल्ड सिङको हातबाट ताज पहिरिएसँगै उनले भनेकी थिइन्, ‘जब मैले मेरो नाम सुनें म त चकित भएँ। मलाई अझैं यो विश्वास भएको छैन। म मिस वर्ल्डको ताज लगाउन पाउँदा एकदम गर्व महसुस गररिहेको छु र अब काममा फर्किन पनि उत्सुक छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।