युद्धको त्रासदीमा आफन्त छुट्दाको डर अत्यासलाग्दो हुन्छ। मान्छेका आफन्त मान्छे मात्रै हुन्छन् भन्ने नहुँदो रहेछ। कसैका लागि पशु पनि आफन्तजस्तै निकट हुन्छ। उसलाई आफूबाट गुमाउनुको पीडा आफन्त गुमाउनुभन्दा कम हुँदैन।
तहानले पनि आफन्त गुमएको छ र त्यो मान्छे नभएर गधा हो। युद्धग्रस्त कश्मीरमा बेपत्ता हुनुअघि बुबाले उसलाई ‘वीरबल’ नामको गधा दिएको हुन्छ। त्यो नै उसको सबैभन्दा निकटको साथी हुन्छ।
सन् २००८ मा प्रदर्शनमा आएको ‘तहान’ सन्तोष सिवानको निर्देशनमा बनेको फिल्म हो। उनले यसअघि ‘द टेरोरिस्ट’जस्तो सफल फिल्म निर्देशन गरिसकेका थिए। तहान पनि युद्धकै कथा हो। यहाँ उनले एक जना बालकले युद्धभूमिमा गरेको संघर्षको कथा भनेका छन्।
फिल्मको नाम मूल पात्रको नामबाट राखिएको छ। तहानको अर्थ हुन्छ, दयालु। तहानको भूमिकामा पुरव भण्डारी छन्। फिल्मभर नै तहानको स्वभाव शब्दको अर्थजस्तै छ।
‘तहान’ फिल्मले भन्ने कथा तहान पात्रले गरेको यात्राको कथा हो। तर, सँगै युद्धले विक्षिप्त भएको समाजको कथा भन्छ। युद्धका कारण बालबालिकाहरू कसरी आफ्नो बालापनको रमाइलो गुमाइरहेका छन् भन्ने विषय जोडदार रूपमा उठाइएको छ।
फिल्मको सुरुवातमा तहान र उसका हजुरबुबा (भिक्टर बेनर्जी अभिनित) कश्मीरमा आफ्नो जीवन चलाउनका लागि संर्घषरत छन्। युद्धका कारण शहरबासी विक्षिप्त छन्। महिलाहरू बेपत्ता भएका आफ्ना श्रीमान् फर्किने आशा बोकेर ईश्वरका सामुन्ने प्रार्थना गरिरहन्छन्। तहान पनि आफ्नी आमालाई ईश्वरसामु हात फैलाएर रोइरहेको देख्छ।
युद्ध चलिरहँदा तहानको जीवनमा तत्काल धेरै फरकपन आउँदैन। उसको दिदी शहरको कुनै महाजनको घरमा काम गर्छिन्। ऊ आफ्नो गधा लिएर हजुरबुवासँग कामको खोजीमा यत्रतत्र डुलिरहन्छ।
तर, हजुरबुबाको मृत्युपछि उसको जीवनमा ठूलो फरकपन आउँछ। उनीहरूले ऋण लिएका हुन्छन्। ऋण चुक्ता गर्न घरमा राखिएका सामानदेखि तहानको साथी वीरबलसम्म मालिकलाई दिनुपर्ने दिन आउँछ। उसकी लाटी आमा आफ्नो अवस्थाबारे इशारामा सम्झाउने प्रयास गर्छिन्। तर, अबोध तहान यी कुराभन्दा महत्त्वपूर्ण आफ्नो गधालाई ठान्छ, जसलाई फिर्ता ल्याउनका लागि ऊ आमाले दराजमा राखेको पैसा चोर्नेसम्मको निर्णयमा पुग्छ।
युद्धग्रस्त शहरमा उसको एक मात्र साथी रहेको वीरबल बेचिनुले ऊ विक्षिप्त भएको हुन्छ। जसोतसो पैसा जम्मा गरेर उसलाई फिर्ता लिन पुग्दा मालिकले गधा कसैलाई बेचिसकेको हुन्छ।
फिल्ममा तहानले आफ्नो गधा फर्काउनका लागि गरेको यात्राको कथा छ। तर, यो यात्रामा कश्मीरको हिउँको चिसोमा गर्नुपर्ने संघर्षदेखि युद्धका कारण विस्थापित भएका कश्ीमरी पण्डितहरुको खाली गाउँको कथा पनि प्रस्तुत छ।
तहान आफ्नो गधा सुभन दार (अनुपम खेर अभिनित)लाई बेचिएको थाहा भएसँगै यात्रामा निस्किन्छ। तहान बस्ने क्षेत्रभन्दा धेरैमाथि रहेको दारको गाउँसम्मको पैदल यात्रामा जान्छ। दार फलफूल र खाद्यान्नको आयातनिर्यात गर्ने व्यापारी हुन्छ।
वीरबल अब दारको सम्पत्ति भइसकेको हुन्छ। तहान दार र उसको कामदार जफर (राहुल बोस अभिनित) लाई पछ्याउन थाल्छ। तर, चिसोका कारण उनीहरुसँग हिँड्न सक्दैन। पहाड र हिँउसँगको संघर्षमा ऊ हार मान्नुपर्ने अवस्थासम्म पुग्छ।
आफ्नो साथीलाई आफूसँगै फर्काउने रहरले तहानलाई युद्धको यथार्थ देखाउँछ। एक ठाउँबाट अर्को ठाउँसम्म जाँदा हुने प्रहरीको चेकजाँच बेहोर्छ। तारबारभन्दा पछाडि आफ्ना श्रीमानका तस्बिर बोकेर उनीहरूको खबर पर्खिरहेका श्रीमतीहरूको लस्कर देख्छ।
तहान यिनै युद्धग्रस्त क्षेत्रबाट आफ्नो गथा फर्काउन चाहन्छ। तर, त्यो संभव देखिँदैन। ऊ भन्छ, ‘मलाई बुबाले सधैँ वीरबललाई आफ्नो साथमा राख्नु भन्नुभएको छ।’ ऊ त्यो वचन कायम राख्न कठिनभन्दा कठिन कदम चाल्नसमेत तयार हुन्छ।
यही क्रममा उसको भेट ‘आतंकवादी’ समूहका लागि काम गर्ने इद्रिस (अंकुश दुबे अभिनित)सँग हुन्छ। अब उसको जीवन बदलिन्छ। ऊ आफ्नी आमा, व्यापारी लगायतलाई एउटै प्रश्न सोध्छ, ‘कश्मीरका पहाड, फाँटहरु कसका हुन्?’
यी सबै ईश्वार (अल्लाह)को भएको जवाफ पाउँछ। तर, आतंकवादीहरू यी पहाड र फाँट आफ्नो भएको र अरु कसैले त्यसमाथि अधिकार जताइरहेको दाबी गर्छन्।
इद्रिसले तहानलाई वचन दिएको हुन्छ, उसले सहयोग गरेमा वीरबललाई फिर्ता ल्याइदिने छ। तहान वीरबललाई फर्काउने महत्वकांक्षाकै कारण त्यो समूहसँग निकट भएर आतंकवादी काममा लाग्छ। ऊ ग्रिनेड ल्याएर घरमा लुकाउनेदेखि तिनलाई त्यो पहाडभन्दा पारिसम्म लैजाने काम गर्छ। प्रहरीहरु तहानमाथि शंका गर्दैनन्।
तहान वीरबललाई फर्काउने आशामा यस्तो अवस्थासम्म पुग्छ, जहाँ सुरक्षाकर्मीको ब्यारेकमा ग्रिनेड प्रहार गर्न लागेको हुन्छ। तर, सामुन्ने एउटा कुकुरको बच्चा देखेपछि ऊभित्रको दयालु स्वभावले त्यो प्रहार गर्न दिदैंन। कुकुरको बच्चालाई त्यहाँबाट हटाएपछि बल्ल ग्रिनेडको पिन निकाल्छ। प्रहार गर्न लागेको अवस्थामामा ऊ केही सुरक्षाकर्मीहरु एक व्यक्तिलाई सोधपुछ गरिरहेको देख्छ। त्यहाँ मानिसको उपस्थिति देखेपछि तहान बमलाई आफूसँगै राख्छ। सुरक्षाकर्मीले सोधपुछ गरिरहेका मानिस अरु कोही नभएर वर्षौंअघि बेपत्ता उसकै बुबा हुन्छन्।
तहान आफ्नो बलबुतामा ग्रिनेडलाई यस्तो ठाउँमा पुर्याउँछ, जहाँ कोही हुँदैन। ग्रिनेड पड्किन्छ, तहानले आफूसँगै अरु धेरैको ज्यान बचाउँछ। वीरबललाई फर्काउने संघर्षमा ऊ पहाडपारिबाट शहरसम्म हजारौं पटक आउनु परे पनि आउने प्रतिज्ञा लिन्छ। व्यापारी दारको नातिले वीरबल र तहानको सम्बन्धबारे थाहा पाएसँगै आफ्नो हजुरबुबालाई त्यो गधा फर्काएर नयाँ गधा ल्याउन हठ गरिरहेको हुन्छ। फलस्वरुप, तहानले हजारौं पटक पहाडपारिको यात्रा गर्नु पर्दैन। ऊ आफ्नो गधा फिर्ता पाउँछ।
कश्मीरलाई लिएर बलिउडमा बनेका अन्य फिल्मभन्दा यो धेरै फरक छ। प्रायः फिल्मलाई राष्ट्रवादसँग जोडिन्छ। पाकिस्तानलाई खलनायक र भारतीय सेनालाई नायकको रुपमा प्रस्तुत गरिन्छ।
कश्मीरबारे युद्ध र बदलाका कथा धेरै छन्। तहान भने दया र मानवताको कथा हो।
फिल्मका निर्देशक सन्तोष सिवानले रोयटर्ससँगको संवादमा सन् २००८ मा भनेका थिए, ‘तपाईंले हिंसाको महिमा गरेको वा ग्राफिकल रूपमा प्रस्तुत गरेको खोज्ने प्रयास गर्दै हुनुहुन्छ भने त्यो यहाँ छैन्। बरु एउटा बच्चाको दृष्टिकोणबाट युद्धलाई देखाइएको छ।’
तहानले कश्मीरको जनजीवनको कथा भन्छ। अथवा, ती बालबालिकाहरूको कथा भन्छ, जसले युद्धका कारण आफ्नो साथीसम्म बनाउन सकेका हुँदैनन्। युद्धका त्रासदी र विक्षिप्त अवस्थालाई फिल्मले एउटा बालकको आँखाबाट सुन्दर ढंगले चित्रित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।