पुराना दलको कार्यशैली र नेताहरूको प्रवृत्तिबाट जनताहरू कति निराश छन्, यसको झलक गएको स्थानीय तहको निर्वाचनबाट देख्न सकिन्छ।
स्वतन्त्र उम्मेदवारका रुपमा उठेर विजयी भएका धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यसका उदाहरण हुन्।
प्रतिनिधिसभाको चुनावमा रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको अनपेक्षित मतले पुराना दलप्रति आम जनताको वितृष्णालाई झन् पुष्टि गर्यो।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’बारे चर्चा गर्दा यो दृष्टान्तलाई सम्झनै पर्छ।
पछिल्लो समय राजनीतिलाई मुख्य विषय बनाएर नेपाली फिल्महरू क्रमश: बने। हेमराज बिसी निर्देशित ‘छक्का पञ्जा–४’, दीपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’ वा कृषा चौलागाईं निर्देशित ‘ऐंचो पैंचो’। यही लहरमा अर्को फिल्म पनि थपियो, निश्चत बस्नेत निर्देशित ‘दिमाग खराब’।
मुद्दाकेन्द्रित फिल्म बनाउँदा नेपाली फिल्ममेकहरू त्यसका सृजन पक्षमा चुकेका उदाहरण थुप्रै छन्। त्यसो हुँदा फिल्म नाराजस्तf र सन्देशमूलकमात्र भइदिने जोखिम निर्देशकहरूले व्यहोरिरहेका छन्। यही समस्याको पुनरावृत्ति हुनबाट ‘दिमाग खराब’ पनि जोगिएको छैन। फिल्मले अभियान नगरपालिकाभित्रका जनताको मनोदशा र त्यसले निम्त्याएको चुनावी परिणामको कथा भन्छ।
कथा भन्दै गर्दा निश्चल बस्नेत निर्देशक भन्दा बढी अभियन्ता हाबी भए कि भन्ने लाग्छ।
दर्शकको पहिलो सर्तबाट फिल्मलाई हेरौँ। फिल्म हेर्न हलसम्म धाउने दर्शकको पहिलो सर्त, फिल्मले सुरुदेखि अन्त्यसम्म बाँध्नुपर्छ। दर्शकको ‘इन्गेजमेन्ट’लाई अन्तिमसम्म बचाएर राख्नु चुनौतीको कुरा हो। यसअर्थमा ‘दिमाग खराब’ सफल छ। जुन कुरालाई स्थापित गर्न खोजिएको हो, त्यसमा निर्देशक सुरुदेखि अन्त्यसम्म नै प्रस्ट छन्। फिल्ममा बेलाबेलामा आउने ट्विस्ट अनि क्लाइमेस्कले ‘सरप्राइज्ड’ दिन्छ।
वैदेशिक रोजगारीका लागि हिँडेको गाउँको सोझो युवा इन्द्र शर्मा विमानस्थलबाटै फर्कनुपर्छ। ऊ मेनपावरबाट ठगिएको हुन्छ। ऊ र उसको परिवार कुन मनोदशाबाट गुज्रिएको छ, त्यो मार्मिक तरिकाले उन्दै लगिएको छ।
फिल्मको एउटा दृश्यले इन्द्रको परिवारको अवस्थालाई बिम्बात्मक रुपमा चित्रण गरेको छ। वर्षाको बेला इन्द्रको घरभित्र पानी चुहिने समस्या छ। झम्झम् वर्षा भइरहेको बेला इन्द्र र सूचीको छोरी आँगनमा जमिरहेको पानीमा कागजको डुंगा खेल्छिन्। त्यो डुंगा न पारी तर्न सक्छ, न त्यहीँ सकुशल रहन। जीवनसँग जोड्दा इन्द्र न विदेश जान सक्यो, न गाउँमै आफ्नो समस्या समाधान गर्न।
यसको मूल जड नगरवासीमाथि राज गर्ने मेयर नै हुन्छ। आम मान्छेले राजनीतिक दलले पालेका गुन्डा र नेताहरूको भ्रष्टाचारका कारण जे जे दु:ख पाए, त्यो इन्द्र शर्मा र भोला थिङको परिवारमा प्रस्टै देखिन्छ। फिल्ममा निराशाले जनताहरू कसरी विद्रोही बन्छन् भन्ने कुरा सुन्दर ढंगले प्रस्तुत गरिएको छ। निराशा बोकेर बाँचिरहेको नेपाली समाजको फ्रस्टेसन बोल्ने फिल्म हो ‘दिमाग खराब’। र त्यो निराशाबाट जोगाउन फिल्मले नयाँ विकल्पका रुपमा स्वतन्त्र उम्मेदवारलाई अगाडि उभ्याएको छ।
फिल्ममा एउटा गरिब किसान राजनीतिमा आउने घोषणा गर्दासम्म मेकर इमान्दार छन्। त्यसपछि उनले बठ्याइँ गर्छन्। सजिलो बाटो तय गर्छन्। स्वतन्त्र उम्मेदवारले नै जनतालाई पार लगाउँछन् भन्ने गलत भाष्य स्थापित गरिदिन खोज्छन्। सर्वहारा वर्ग सत्तामा पुग्न उसले गरेको संघर्ष बलियो ढंगबाट प्रस्तुत गरिएकै छैन। मेयरलाई थप्पड हान्नु, भ्रष्टाचारको फाइल खोल्छु(अमूर्त कुरा) भनेर प्रतिवद्धता जनाउनु जनताहरू ऊतर्फ आकर्षित हुने बलियो आधार हुन्। ऊ सामाजिक सञ्जालमा भारइल हुन्छ। जनमत सजिलै ऊतर्फ देखिएपछि विपक्षीले दिएको पीडा बाहेक पात्रको खास संघर्ष देखिन्न।
स्वतन्त्र उम्मेदवार हुँदै गर्दा उसले वैचारिक रुपमा गरेको संघर्ष पनि देखिन्न। कहिलेकाहीँ भइरहेको घटनालाई तत्कालै मूल्याकंन गर्न सकिन्न। त्यसको गुण र दोष पत्ता लगाउन अझै समय पर्खनपर्छ। यस हिसाबले हेर्न हो भने फिल्ममा त मध्यान्तर मात्र भएको छ। स्वतन्त्रहरू कति सक्षम भए त भनेर मूल्यांकन गर्न अर्को समय पर्खनुपर्छ।
अर्कोचाहिँ सांगठनिक स्वरुपलाई निर्देशकले बेवास्ता गरेका छन्। हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उठ्थ्यो। उनी अहिले जे माहोल बनिरहेको छ, त्यसैमा रुमल्लिरहेका छन्। पटकथाकार र मेकर यसअर्थमा दुरदर्शी देखिन्नन्। यदि एउटा सिनेमाले समाजलाई लिड गर्छ भने, ‘दिमाग खराब’ले गलत गाइड गर्न पनि सक्छ।
कथामा मूलधारका मिडियाको बलियो उपस्थिति छैन। बरु युट्युब र अभियन्ताहरूको उपस्थितिलाई बलियो मानिएको छ।
फिल्मलाई पात्रका अभिनयले भने सुन्दर बनाएका छन्। इन्द्र शर्माको भूमिकामा खगेन्द्रले फेरि आफूलाई प्रमाणित गरेका छन्। इन्द्रको स्वभावमा परिस्थितिले निम्त्याउने परिवर्तनलाई उनले कायम राखेका छन्। विमानस्थलमा भेटिँदाको इन्द्र शर्माप्रति दर्शकको सहानुभुति थियो। तर चुनाव लड्ने अभियानमा हिँडेको इन्द्रसँग दर्शकको आशा छ।
इन्द्रका साथी भोला थिङको भूमिकामा दयाहाङ राईले प्रशंसनीय काम गरेका छन्। स्वस्तिमा खड्काले फेरि अभिनयको फरक स्वाद दर्शकलाई दिएकी छन्। इन्द्र शर्माको पत्नीको भूमिकामा छिन् उनी। उनको तयारी र मेहेनत डाइगल डेलिबरी, हाउभाउमा मीठै झल्कन्छ।
उमेरमा ३०/३५ वर्षको वरिपरी देखिने यी गाउँले दम्पतीले एकापसमा व्यक्त गर्ने प्रेम स्वभाविक र सुन्दर देखिन्छ।
बिरामी आमाको भूमिकालाई रमा थपलीया सशक्त ढंगले निर्वाह गरेकी छन्। कम डाइलग तर मर्मस्पर्शी सुनिन्छिन् उनी। अर्पण थापा मेयरको भूमिकामा ‘पर्फेक्ट’ देखिन्छन्।
यसपालि विजय बरालले दर्शकहरूलाई आश्चर्यमा पारेका छन्। प्राय: फिल्ममा उनको भूमिका स्टेरियोटाइप भएको अनुभूत भइरहँदा यसपटक उनी फरक भूमिकामा छन्। उनी ‘एन्टागोनिस्ट’ भूमिकामा छन्। उनको पात्रको हर्कतले दर्शकमा डर, घृणा, दु:ख, क्रोध उत्पन्न भइरहन्छ। उनले यो भूमिकामा सुहाउँदिलो अभिनय गरेका छन्।
निर्मलको भूमिकामा देखिएका निश्चलको इन्ट्रीले दर्शकमा नयाँ उत्साह थपिदिन्छ। उनी विशेष र अफ्ठ्यारो परिस्थितिमा देखापर्छन्। तर उनको पात्र उति बलियो छैन। जबर्जस्ती तन्क्याएर बलियो बनाउन खोजिएझै लाग्छ।
युट्युवरको भूमिकामा देखिएका सुमन कार्कीले सम्भवत: डेब्यू फिल्मबाटै आफ्नो सम्भावनालाई बलियो बनाएका छन्।
फिल्ममा सिनेमाटोग्राफी, पार्श्वध्वनिले पात्रको मुड, अवस्था र सम्भावित घटनालाई कलात्मक तरिकाले व्यक्त गरेका छन्।
फिल्मको सेटिङ गाउँको छ। तर अर्गानिक र ग्रामीण सौन्दर्यलाई पनि दृश्य वा संवादमा जोड्न सकिएको भए फिल्ममा दर्शकले खोज्ने नयाँपन भेट्थे कि! यद्यपि, हलसम्म दर्शक डोहोर्याउने सामर्थ्य राख्नु फिल्मको बलियो पाटो हो नै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।