काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक र राजनीतिक रूपान्तरणमा नेपाली महिलाको भूमिका अहम् रहेको बताएका छन्। ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महिलाहरूको युगौंदेखि त्याग, तपस्या र बलिदानले बेग्लै कीर्तिमान कायम गरेको पनि उल्लेख गरेका छन्।
सबै सामाजिक र राजनीतिक परिवर्तन र संघर्षमा महिला समुदायको सक्रिय सहभागिता र भूमिकाले नै विश्व सभ्यता यहाँसम्म आइपुगेको उनको भनाइ छ। ‘नेपाली सामाजिक र राजनीतिक रूपान्तरणका लागि नेपाली महिलाहरूले युगौंदेखि त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेका छन्,’ प्रचण्डले सन्देशमा उल्लेख गरेका छन्।
साथै, उनले महिलाको संघर्षका कारण पछिल्लो चरणमा महान् जनयुद्धमा बनेका साहस र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेका पनि बताएका छन्।
नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै उनले प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि संघर्षरत रहन सम्पूर्ण महिलालाई अपिल पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।