काठमाडौं — काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बस दुर्घटनामा परेको हो। बाप्र ०३–००१ ख २७७४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार यात्रुहरूले होटलमा खाना खाएपछि बस अगाडि बढाउने क्रममा पछाडि सार्दा दुर्घटना भएको हो। बसको पछाडिको चक्का नालामा परेपछि अनियन्त्रित भएर सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए।
दुर्घटनालगत्तै घटनास्थल पुगेका प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए। उद्धार गरिएका ९ जनालाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाइएको छ।
बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन। घटनास्थलमा उद्धार कार्य जारी रहेको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।