काठमाडौं– प्रतिनिधि सभा बैठकले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेपछि पार्टीको धारणा सार्वजनिक गर्न फागुन १७ गते नेकपा (एमाले)ले पत्रकार सम्मेलन आयोजना गरेको थियो। त्यो पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले देउवा सरकारबारे भनेका थिए- ‘यसको जन्म हुनुपर्ने ठाउँमा नभएर अवैध गर्भाधानबाट झाडीमा जन्म भएको सरकार हो।’
यस्तो अभिव्यक्ति दिने ओली एक्ला एमाले नेता होइनन्। एमालेको १०औँ महाधिवेशनको सन्दर्भमा सचिव योगेश भट्टराईले गएको कात्तिक १७ आयोजित पत्रकार सम्मेलनमा पनि ‘अवैध गर्भधारण’ शब्द प्रयोग गरेका थिए। महाधिवेशनमा अन्य दललाई बोलाउने सन्दर्भमा उनले भनेका थिए- ‘कतिपय राजनीतिक पार्टी अवैध गर्भधारणबाट बनेका छन्। त्यस्ता पार्टीलाई बोलाउन आवश्यक छैन। पहिचान भएका पार्टीलाई आमन्त्रण गरिन्छ।’
गर्भाधान र जन्म प्राकृतिक प्रक्रिया हुन्। महिलाको गर्भ ‘वैध’ वा ‘अवैध’ नहुने अधिकारीवादीहरू बताउँछन्। रत्नराज्यलक्ष्मी क्याम्पसकी उपप्रध्यापक तथा कवि विन्दु शर्मा पितृसत्तावादी सोच र उच्च जातीय अहंकारका कारण नेताहरूबाट यस्ता अभिव्यक्ति आइरहने बताउँछिन्। शब्द र पदावली प्रयोगमा असंवेदनशील हुने नेताबाट विभिन्न वर्ग, जाति, समुदाय र लिंगप्रति विभेदकारी व्यवहार हुने गरेको उनको भनाइ छ।
केही दिनअघि एमाले सचिव विष्णु रिमालले ट्विट गरेर एमालेकै अर्का नेता भीम रावललाई लक्षित गर्दै ‘शिखण्डी’को संज्ञा दिएका थिए। शिखण्डी महाभारतका एक पात्र हुन्, जो स्त्रीका रूपमा जन्मिएका थिए र पछि लिङ्ग परिवर्तन गरेर पुरुष भएका थिए। यो शब्द तेस्रो लिंगी समुदायलाई गाली गर्नलाई प्रयोग गरिन्छ।
यस्ता शब्द प्रयोग गर्नेमा एमालेका मात्र नभइ अन्य दलका शीर्ष नेता पनि अगाडि नै छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आक्रोशित बनेका तत्कालीन नेकपा नेता माधवकुमार नेपालले प्राइम टाइम टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा केपी ओलीले ‘मै मरे डुमै राजा’ प्रवृत्ति देखाएको बताएका थिए।
उनको यो टिप्पणीले दलित तथा उत्पीडित समुदायलाई होच्याएको भनेर आलोचना पनि भएको थियो। तत्कालीन नेकपाकै कार्यकर्ताले समेत उनको भनाइप्रति आपत्ति जनाएका थिए। चौतर्फी आलोचना भएपछि उनले माफी मागेका थिए।
एक अन्तर्वार्ताका क्रममा एमालेकी तत्कालीन सांसद कोमल वलीले पनि तीन वर्षअघि ‘मरेपछि डुमै राजा’ उखान प्रयोग गरेकी थिइन्। कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा उनले दलित समुदायलाई चोट पुग्ने उखान प्रयोग गरेपछि व्यापक आलोचना भएको थियो। त्यसपछि उनले पनि माफी मागेकी थिइन्।
लेखक तथा स्तम्भकार राजेन्द्र महर्जन आफूले बोकेको सिद्धान्तबाट विचलित भएपछि र जुन समुदायका लागि संघर्ष गरेको हो, त्यो अतीत भुलेपछि यस्ता शब्द र पदावली प्रयोग हुने बताउँछन्। ‘उनीहरूले दिने अभिव्यक्तिबाट नेताहरू असंवेदनशील छन् भन्ने देखिन्छ,’ महर्जनले भने, ‘राजनीतिक दलका नेता महिला, दलित र उत्पीडीत समुदायका पक्षमा छैनन् र उनीहरू ती समुदायप्रति विभेदकारी सोच राख्छन् भन्ने उनीहरूका अभिव्यक्तिबाट स्पष्ट हुन्छ। कसैप्रति असहमति जनाउँदा कुनै समुदायलाई होच्याउन लोकतन्त्र ल्याइएको होइन।’
नेताहरूको अभिव्यक्ति पितृसत्ता र 'ब्राह्मणवादको नमूना' भएको पनि उनले बताए। सयौँ वर्षदेखि विभेदकारी शब्द बोल्ने र त्यस्तै व्यवहार गर्नेहरू अझै परिवर्तन हुन नसकेको उनको भनाइ छ।
राजनीतिक दलका नेताहरू मानसिक रूपमा रोगी भएका व्यक्तिप्रति पनि असंवेदनशील हुने गरेका छन्। गएको फागुन १७ गतेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै ‘अवैध गर्भधानबाट जन्मेको’ बताएपछि एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले ओलीलाई ‘मानसिक सन्तुलन ठीक नभएको’ आरोप लगाए। एकीकृत समाजवादीद्वारा त्यही दिन आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले ओलीप्रति लक्षित गर्दै भनेका थिए, ‘दिमाग बिग्रिसकेपछि मान्छे असन्तुलित हुन पुग्छ र असन्तुलित दिमागको उपजको रुपमा त्यस्ता असंवेदनशील भनाइ आउँछन्।’
तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेको घटनालाई लिएर नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले संसदमै ओलीविरुद्ध ‘मानसिक सन्तुलन बिग्रिएको’ टिप्पणी गरेका थिए। तर, एमाले प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति गरेपछि उक्त शब्द संसदको रेकर्डबाट हटाइएको थियो।
यस्तै कांग्रेस सांसद रमेशजंग रायमाझीले पनि प्रतिनिधि सभा विघटनबारे राष्ट्रिय सभामा बोल्दै ‘केपी ओलीको मानसिक सन्तुलन ठीक अवस्थामा नरहेको’ बताएका थिए। उनले संसद विघटनलाई सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई लिएर समेत सबै महिलामाथि प्रश्न उठाउने अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ‘महिलाहरू असक्षम भएका हुन् भन्ने प्रश्न उठाउने गरी राष्ट्रपतिको भूमिका बनेको छ।’
पत्रकार केदार शर्मा कुनै समुदाय, वर्ग, जाति वा लिंगमाथि विभेदजन्य भाषा प्रयोग हुनु खेदजनक रहेको बताउँछन्। ‘यस्ता खालको शब्द अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोग भएको पाइन्छ। अमेरीकाका राष्ट्रपति जो बाइडेनले फक्स च्यानलका संवाददातालाई स्टुपिड सन अफ बिच (मुर्ख कुकुर्नीको छोरा) भनेका थिए,’ शर्माले भने।
यस्ता अस्वाभाविक गालीलाई निराकरण गर्न सामाजिक रूपमा सचेत भएर बानी सुधार्ने उपायभन्दा अरु नभएको शर्मा बताउँछन्। ‘अवैध गर्भाधान वा वैध गर्भाधान भन्ने अधिकार कसैलाई छैन। नेपालको कानुनमा नै बिहे नगरी सन्तान पाउने अधिकार छ,’ उनी भन्छन्, ‘शिखण्डी, मानसिक असन्तुलन बिग्रेको जस्ता आरोप वा अन्य जातीद्वेषी उखान टुक्का अब भनिनु हुँदैन।’
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागकी उपप्रध्यापक डा. निती अर्याल खनाल राजनीतिक दलका नेता आममानिसभन्दा फरक हुन नसक्दा समस्या आएको बताउँछिन्। उनी भन्छिन्, ‘राजनीतिक दलका नेता र सार्वजनिक पदमा बहाल मान्छेले असंवेदनशील र अपाच्य शब्द प्रयोग गर्दा त्यसले हिंसा बढाउने काम मात्र गर्छ। यस्ता अभिव्यक्ति पनि हिंसात्मक सोचको उपज हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।