चितवन– आगामीे पुसमा बाघ गणना गरिने भएको छ।
पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो।
यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ।
हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ। विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो।
बाघ गणनाका लागि चालु आर्थिक वर्षमा विभागले रु १८ लाख विनियोजन गरेको छ। यसका लागि रु एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्दछ। गैँडा गणनाका लागि पनि विभागले रु १८ लाख नै विनियोजन गरेको छ। गैँडा गणना गर्न रु दुई करोड बढी खर्च लाग्ने गर्दछ। बाँकी रकमका लागि दाताहरुसँग सहयोग मागिने छ।
यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरु राख्ने गरिन्छ। त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ। बाघहरुको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले जानकारी दिए। हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।