काठमाडौं– बलिउड सुपरस्टार सलमान खानको २०१५ को फिल्म ‘बजरंगी भाइजान’ उनले अभिनय गरिरहेका द्वन्द्वप्रधान फिल्महरुभन्दा फरक थियो।
समीक्षात्मक रुपमा सफल भएको यो फिल्मले व्यापारिक रुपमा पनि सफलता पाएको थियो। उक्त फिल्ममा ‘मुन्नी’ पात्रको रुपमा अभिनय गरेकी बालकलाकार हर्षाली मल्होत्राको अभिनयलाई पनि दर्शकले निकै रुचाएका थिए।
यीनै मुन्नी आइतबार १४ वर्ष पुगेकी छिन्। सानो उमेरमा नै निकै सफलता हासिल गर्ने सीमित बाल कलाकारमध्येकी एक हर्षालीले आइतबार जन्मदिन मनाउँदैछिन्।
टेलिभिजनदेखि आफ्नो करिअरको सुरुवात गरेकी हर्षालीले छोटो समयमा नै बलिउडको ठूलो बजेटको फिल्म र सलमान खानसँगको सहकार्यमा काम गर्न पाएकी थिइन्।
२०१५ मा उनले सलमानसँग ‘बजरंगी भाइजान’मा अभिनय गरेपछि पर्दामा भने कमै देखिएकी थिइन्। उनले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार विभिन्न टेलिभिजन, ओटीटीमाध्यम र फिल्मबाट अफर आएपछि आफूले खोजेजस्तो भूमिकामा प्रस्ताव नआएका कारण उनले अहिले अभिनय नगरेकी हुन्।
उनले भनेकी छिन्, ‘म हतार गर्न चाहँदिन। मलाई त्यस्तो फिल्ममा काम गर्नुछ, जसमा मेरो कामको नोटिस हुनेछ।’
हर्षालीलाई जन्मदिनको शुभकामना!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।