काठमाडौं– साताको पहिलो कारोबार दिन सामान्य घटेको सेयर बजारमा जलविद्युत कम्पनीको सेयर मूल्य भने बढेको छ। सत्ता गठबन्धन दलहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्न सहमत भएको त्यसको असर सेयर बजारमा परेको हो। यस विषयको चर्चाले सेयर बजारलाई केही सकारात्मक बनाउन पहल गरेको एक जानकार बताउँछना्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा एमसीसी सम्झौताबारे सैद्धान्तिक छलफल चलिरहेको छ। यस दिन एमसीसी अनुमोदन हुने चर्चासँगै जलविद्युत कम्पनीको सेयर मूल्य उकालो लागेको हो।
आज कारोबारमा आएको १३ समूहमध्ये दुई समूहको मात्र सेयर मूल्य बढेको छ। त्यसमा सबैभन्दा धेरै जलविद्युत कम्पनी समूहको सेयर मूल्य बढेको हो।
यस समूहको सेयर मूल्य आज १.०४ प्रतिशतले उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ। आज कारोबारमा आएका २२८ कम्पनीमा १५८ कम्पनीको सेयर मूल्य घट्दा ७० कम्पनीको सेयर मूल्य बढेको छ। सेयर मूल्य बढ्ने अधिकांश कम्पनी जलविद्युत कम्पनी रहेको नप्सेको तथ्यांकमा उल्लेख छ।
सबैभन्दा धेरै मूल्य बृद्धि भएका १० जलविद्युत कम्पनीहरु नेशनल जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५ रुपैयाँ ८६ पैसा, युनिभर्सल जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९ रुपैयाँ ९० पैसा, छ्याङ्दी जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ रुपैयाँ, युनियन जलविद्युत कम्पनीको सेयर मूल्य १० रुपैयाँ प्रतिकित्ता बढेको छ।
यसैगरी, वरुण जलविद्युत कम्पनीको सेयर मूल्य १४ रुपैयाँ प्रतिकित्ता, हिमालयन पावर जलविद्युत कम्पनीको सेयर मूल्य १२ रुपैयाँ प्रतिकित्ता, रसुवागढी जलविद्युत कम्पनीको सेयर मूल्य १० रुपैयाँ, हिमाल दोलखा जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँ, चिलिमे जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँ, सीईडीबी जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३ रुपैयाँले बढेको नेप्सेले जानकारी दिएको छ।
एमसीसी पारित भएको खण्डमा जलविद्युत कम्पनी क्षेत्रमा लगानी थपिने भएको कारण यस क्षेत्रको सेयर मूल्यमा उत्हास देखिएको एक जानकार बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।