काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसीसीबारे फैलाइएको झुटको पर्दा विस्तारै खुल्दै गएको दाबी गरेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे जनतामा धेरै भ्रम फैलाइएको र नेपाली कांग्रेसले जनतालाई सत्य बुझाउन लागेको उनले बताए।
‘हामीले सत्य तथ्य जनताका बीचमा राख्नुपर्छ भनेर सत्य बोल्न थालेको हौं’, उनले भने, ‘ बढीभन्दा बढी जनतामा यो लानुपर्ने अवस्था देखिएको छ। सत्य कुरा जनताले बताउन सफल हुने छौं।’
उनले सत्य, झुटोजस्तो र झुटो, सत्यजस्तो देखिएको भन्दै अमेरिकाको यो परियोजनाको लक्ष्य नै नेपालजस्ता देशको माग अनुसार भएको दाबी गरे। उनले नेपालजस्ता देशमा आउने सहयोग विभिन्न नाममा फर्कने गरेकाले पूर्वाधार र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न माग गरे अनुसार एमसीसी आएको बताए।
नेपालले नै निवेदन दिएर एमसीसी आएको उनको दाबी छ। बाबुराम भट्टराई नेतृत्वको सरकारमा नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुदाँ यसको सुरवात भएको महतले बताए।
त्यसपछिका सरकारले यसलाई फलोअप गरेर आएको भन्दै उनले यसमा सब राजनीतिक दलहरुको संलग्नता रहेको दाबी गरे। सन् २०१२ देखि २०१७ सम्म पाँच वर्षको कसरतपछि सबै राजनीतिक दल जो सत्तामा पुगे उनीहरुको पहलले एमसीसी आएको महतले बताए।
उनले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला संसद्बाट अनुमोदन गर्नेगरि संसद्को सचिवालयमा प्रस्ताव दर्ता भएको सुनाए। ‘यसरी सब संलग्न भएर आएको हो’, महतले थपे, ‘तर अहिले मन्त्रीको रुपमा संलग्न रहेकाहरु नै विरोधमा देखिनु भएको छ।’
उनले कांग्रेस सत्तामा रहँदा ठीक र बाहिर रहँदा बेठीक भन्ने पक्षमा नरहेको दाबी गरे। महतले नेपाली कांग्रेसको एउटै अडान रहेको र त्यो सत्यको पक्षमा रहेको दाबी समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।