फाइल तस्बिर।
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टी परित्याग गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै बर्तौलाले आफूले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्यबाट राजीनामा दिएको जनाएका छन्।
उनी गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। निवर्तमान अध्यक्ष कमल थापा समूहमा रहेका बर्तौलाले थापाले राप्रपा छोडेसँगै राजीनामा दिएका हुन्।
पार्टी अध्यक्षलाई आफूले राजीनामा बुझाएको बर्तौलाले जानकारी दिएका छन्।
पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै नैतिक रुपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएको भन्दै उनले साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्यबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
उनले विज्ञप्तिमा अर्को पार्टीमा जाने विषयमा कुनै उल्लेख नगरे पनि अब कमल थापाले पुनःगठन गरेको राप्रपा नेपालमा सहभागी हुने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।