काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन्। झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसीसीबारे स्पस्ट धारणा राख्दै आएको बताए।
सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसीसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको स्रोत हुने शर्माले बताए। ‘एमसिसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो,’ उनले भने, ‘ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो। तसर्थ भारतको समर्थन खोजिएको हो।’
नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै उनले सबै देशको लगानीलाई स्वागत गर्ने बताए। सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्न सकिने उनको भनाइ थियो। ‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसीसीको प्रक्रिया अघि बढेको हो,’ शर्माले भने, ‘प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमा हुनुहुन्थ्यो। अहिले त्यसको विरोध किन? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईंहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु। तपाईंहरू तयार हुनुहुन्छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।