काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई यथास्थितिमा संसद्बाट अनुमोदन गर्न नसकिने दोहोर्याएका छन्।
आइतबार राति सामाजिक सञ्जालमार्फत् नेपालले पार्टीको स्थायी कमिटीको बैठकले एमसीसीलाई यथास्थितिमा संसद्बाट अनुमोदन गर्न नसकिने निर्णय गरेको र यसप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन्।
संसद्मा टेबल गरिएको एमसीसीप्रति केवल सांसदहरूको मात्र नभएर सबै तहका जनताको विरोध वा समर्थन हुन सक्ने उनको भनाइ छ।
‘असहमति र विरोधका बीच संसद्मा टेबल गरिएको विषयप्रति केवल सांसदहरूको मात्र होइन सबै तहका जनताको विरोध वा समर्थन हुन सक्दछ,’ उनले भनेका छन्,‘यसो गर्न पाउनु हाम्रै संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको बिषय हो।’
उनले एमसीसीविरुद्धको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै आपत्तिसमेत जनाएका छन्। ‘अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गम्भीर असहमतिसहित बिरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना एवम् उहाँहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।