काठमाडौं– ‘भैंसी काण्ड’मा मुछिएका पोखरा महानगरपालिकाका निमित्त कानुनी सल्लाहार कमल अर्याल हिरासत मुक्त भएका छन्। गाउँपालिकाको न्यायिक समिति र जिल्ला अदालतको फैसला 'विपरीत' मिलापत्र गराएपछि उनी हिरासत मुक्त भएका हुन्।
ठगी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका अर्यालयले भैंसी धनी भनिएका रामबहादुर दमै र फार्म सञ्चालक रामप्रसाद ढुंगानाबीच मिलापत्र गराइ आफूविरुद्धको ठगी मुद्दा फिर्ता लिन हिरासत मुक्त भएका हुन्। प्रहरी स्रोतका अनुसार उनी गत शुक्रबार हिरासत मुक्त भएका थिए।
भैंसी कसको भन्ने विवादको मुद्दा हारेर पनि जितेको भन्दै रकम लिएर ठगी गरेपछि पीडित दमैले अर्यालविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत सोमबार उजुरी दिएका थिए।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१० का रामबहादुर दमैको दुई वटा भैंसी हराएको थियो। उक्त भैंसी अन्नपूर्ण गाउँपालिका–८ स्थित थमडाँडामा रहेको थमडाँडा सामूहिक अर्ग्यानिक कृषि तथा पशुपंक्षीमा भेटिएको थियो। फार्म सञ्चालक रामप्रसाद ढुंगानाले ती भैंसी आफ्नो दाबी गरेका थिए भने दमैले पनि आफ्नो दाबी गरेका थिए।
भैंसी कसको भन्ने उक्त विवाद गाउँपालिकाको न्यायिक समितिदेखि जिल्ला अदालत कास्कीसम्म पुगेको थियो। न्यायिक समितिले उक्त भैंसी फार्म सञ्चालककै हुने ठहर गरेको थियो। त्यसपछि दमै उक्त निर्णयविरुद्ध जिल्ला अदालत कास्की पुगेका थिए। कास्की अदालतले समेत उक्त भैंसी फार्म सञ्चालककै रहेको फैसला गरेपछि दमैले मुद्दा हारेका थिए।
तर वकिल अर्यालले भने दमैलाई मुद्दा जितेको भन्दै अतिरिक्त पारिश्रमिक स्वरुप ५ हजार रुपैयाँ लिएका थिए। वकिल अर्यालले मुद्दा जितको भन्दै बधाई दिँदै ५ हजार मागेपछि दमैले उनलाई पैसा दिएका थिए।
दमैले मुद्दा जितेको कागजात माग्दा उनले ३५ दिन लाग्ने बताएका थिए। पछि उक्त कागजात लिनसमेत थप २ हजार रुपैयाँ लाग्ने भन्दै अर्यालले दमैसँग थप २ हजार रुपैयाँ लिएका थिए।
पछि मुद्दाबारे बुझ्दा आफूले हारेको र उल्टै जितेको भन्दै अर्यालले ठगी गरेको थाहा पाएपछि गत सोमबार दमैले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको कसूरमा जाहेरी दिएका थिए। दमैको जाहेरी आएपछि अदालतबाट पक्राउ पूर्जी लिएर उनलाई मंगलबार पक्राउ गरी ठगीको कसुरमा अनुसन्धान अघि बढाइएको थियो।
हारेको मुद्दामा जितेको भन्दै अतिरिक्त रकम लिएर ठगी गरेका अर्यालले न्यायाधीश शर्माले मुन्टो हल्लाएकाले मुद्दा जितेको भन्ने बुझेकाले दमैलाई जितियो भन्दै अतिरिक्त शुल्क लिएको भनेर बयान दिएका खुलेको छ।
पछि मुद्दा हारेको थाहा पाएपछि जिल्लाको निर्णयविरुद्ध उच्च जानुपर्छ भन्दै दमैलाई थुमथुमाउने प्रयास वकिल अर्यालले गरेका थिए। बहस गर्ने क्रममा विभिन्न शुल्क भन्दै अर्यालले दमैबाट २१ हजार रुपैयाँ पहिल्यै लगिसकेका थिए।
हारेको मुद्दामा जितेको भन्दै रकम लिएपछि थुनामा रहेको वकिल अर्यालले हिरासत मुक्त हुन फार्म सञ्चालक र भैंसी धनी भनिएका दमैलाई पोखरा बोलाएर मिलापत्र गराउँदै दमैलाई आफूविरुद्ध ठगी मुद्दा फिर्ता लिन लगाएको खुलेको छ। स्रोतका अनुसार अर्यालले भैंसी धनी भनिएका दमैलाई उनको भैंसी फिर्ता दिने र आफूले अहिलेसम्म लिएको रकम समेत फिर्ता गराउन सहमति गराएर उनलाई आफूविरुद्ध मुद्दा फिर्ता लिन लगाएका थिए। अर्कोतर्फ आफ्नो भैंसी भएको दाबी गरेका फार्म सञ्चालक ढुंगानालाई समेत अर्यालले भैंसी वापतको रकम दिन तयार भएका थिए।
भैंसी बराबरको रकम अर्यालले दिएपछि ढुंगाना समेत दमैलाई भैंसी फिर्ता गर्न राजी भएका थिए। यसरी मिलापत्र गराएर उनी सुटुक्क रिहा भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
‘भैंसी काण्ड’मा नाम जोडिएपछि अर्याललाई पोखरा महानगरपालिकाले कानुनी सल्लाहकारबाट समेत हटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।