काठमाडौं– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुका सुकबहादुर दमै व्यावसायिक भैंसी पालन गर्दै आएका छन्। कास्कीकै मोक्यु लेकमा उनको भैसी गोठ छ। दाइले व्यावसायिक भैंसी पालन गरेकाले उनका भाइ रामबहादुर दमैले पनि २०७६ जेठमा भैसीका दुई वटा पाडा मोक्यु लेकस्थित दाइको गोठमा पुर्याए।
लेकमा चर्ने क्रममा २०७६ फागुनमा रामबहादुरका दुवै पाडा हराए। पाडा हराएपछि खोजी गरे पनि डेढ वर्षसम्म रामबहादुरले पाडा भेटेनन्। तर पाडा खोज्ने क्रम जारी थियो। २०७७ असारको अन्तिम सातातिर रामबहादुरले कास्कीकै अन्नपूर्ण गाउँपालिका–८ स्थित थमडाँडामा २ वटा पाडा भेटे। ती पाडा आफ्ना भए पनि रामबहादुर बर्खाका कारण पाडा ल्याउन सकेनन्। साउनमा पाडा लिन थमडाँडा पुग्दा थमडाँडा सामूहिक अर्ग्यानिक कृषि तथा पशुपंक्षीमा ती पाडा भेटिए।
पाडा आफ्ना भएको भन्दै रामबहादुरले पाडा लिएर फर्किए। उता फार्म सञ्चालक दिनेश गुरुङ र रामप्रसाद ढुंगानाले आफ्नो भैंसी रामबहादुरले लगेको भन्दै फिर्ता गर्न आग्रह गरे। तर रामबहादुरले भैंसी आफ्नो भएको दाबी गरे । भैंसीमा दुबै पक्षको आ–आफ्नो दाबी भएपछि उक्त विवाद प्रहरी चौकीदेखि गाउँपालिकासम्म पुग्यो ।
रामप्रसाद पक्षले ती पाडा आफूले किनेको दाबी गरेका थिए। कसको भैंसी भन्ने विवाद घान्द्रुक प्रहरी चौकी हुँदै इलाका प्रहरी कार्यालय बगरसम्म पुग्दा पनि टुंगिएन। आफ्नो भैंसी रामबहादुर दमैले जबरजस्ती लगेको भन्दै फार्म सञ्चाकले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए । न्यायिक समितिले उक्त भैंसी फार्म सञ्चालककै भएको ठहर गर्यो।
न्यायिक समितिको निर्णयबाट आफू अन्यायमा परेको भन्दै रामबहादुर दमैले फार्म सञ्चालकलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत कास्कीमा २०७७ मंसिर २४ गते मुद्दा दायर गरेका थिए। फार्म सञ्चालक ढुंगाना र न्यायिक समितिलाई विपक्षी बनाउँदै रामबहादुर दमैले मुद्दा दर्ता गरेका थिए।
उक्त मुद्दामा गत असोज ७ गते जिल्ला अदालत कास्कीका न्यायाधीश डण्डपाणि शर्माले फैसला गर्दै न्यायिक समितिकै निर्णय सदर हुने फैसला गरेका थिए।
यता कास्की बारका पूर्वअध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार कमल अर्यालले भने दमैलाई मुद्दा जितको भन्दै अतिरिक्त पारिश्रमिक स्वरुप ५ हजार रुपैयाँ माग गरेका थिए। वकिल अर्यालले मुद्दा जितको भन्दै बधाई दिँदै ५ हजार मागेपछि उनले दिएका थिए। मुद्दा जितको कागजात दमैले अर्यालसँग माग्दा ३५ दिनपछि हात लाग्ने बताएका थिए। पछि उक्त कागजात लिनसमेत २ हजार लाग्ने भन्दै दमैसँग २ हजार रुपैयाँ अर्यालले लिएका थिए।
पछि मुद्दा बारे बुझ्दा आफूले हारेको र उल्टै जितको भन्दै अर्यालले ठगी गरेको थाहा पाएपछि गत सोमबार दमैले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको कसुरमा जाहेरी दिएका थिए। दमैको जाहेरी आएपछि अदालतबाट पक्राउ पूर्जी लिएर उनलाई मंगलबार पक्राउ गरिएको कास्कीका एसपी रमेश थापाले बताए।
हारको मुद्दामा जितको भन्दै अतिरिक्त रकम लिएर ठगी गरेका अर्यालले न्यायाधीश शर्माले मुन्टो हल्लाएकाले मुद्दा जितेको भन्ने बुझेकाले दमैलाई जितियो भन्दै अतिरिक्त शुल्क लिएको खुलेको छ। पछि मुद्दा हारेको थाहा पाएपछि जिल्लाको निर्णयविरुद्ध उच्च जानुपर्छ भन्दै दमैलाई थुमथुमाउने प्रयास वकिल अर्यालले गरेका थिए। बहस गर्ने क्रममा विभिन्न शुल्क भन्दै अर्यालले दमैबाट २१ हजार रुपैयाँ पहिल्यै लगिसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।