काठमाडौं–‘भैंसी काण्ड’मा नाम जोडिएका कानून व्यवसायी कमल अर्याललाई पोखरा महानगरपालिकाले कानुनी सल्लाहकारबाट हटाएको छ। पोखरा महानगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै अर्याललाई कानुनी सल्लाहकारको पदबाट हटाएको जानकारी गराएको हो।
महानगरका मेयर मानबहादुर जिसीका प्रेस संयोजक माधव बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा छानबिन सहजताका लागि अर्याललाई पदबाट हटाइएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्यतथ्य छानबिनमा सहजताका लागि पोखरा महानगरपालिकाको नगर प्रमुखस्तरीय निर्णयबाट अर्याललाई पक्राउ परेको मिति फागुन ३ गतेका दिनदेखि नै कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको ब्यहोरा सबैमा जानकारी गराउँदछौं।’
भैंसी कसको भन्ने विवादको मुद्दा हारेर पनि जितेको भन्दै रकम लिएर ठगी गरेपछि पीडित रामबहादुर दमैले अर्यालविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत सोमबार उजुरी दिएका थिए। कास्कीको अन्नपूर्ण गाउँपालिका–१० का दमैको दुई वटा भैंसी हराएको थियो ।
उक्त भैंसी अन्नपूर्ण गाउँपालिका–८ स्थित थमडाँडामा रहेको थमडाँडा सामूहिक अर्ग्यानिक कृषि तथा पशुपक्षीमा भेटिएको थियो। फार्म सञ्चालक रामप्रसाद ढुंगानाले ती भैंसी आफ्नो दाबी गरेका थिए भने दमैले पनि आफ्नो दाबी गरेका थिए। भैंसीको कसको भन्ने उक्त विवाद जिल्ला अदालत कास्कीसम्म पुगेको थियो। अदालतले उक्त भैंसी फार्म सञ्चालककै रहेको फैसला गरेको थियो।
तर वकिल अर्यालले भने दमैलाई मुद्दा जितेको भन्दै अतिरिक्त पारिश्रमिक स्वरुप ५ हजार रुपैयाँ माग गरेका थिए। वकिल अर्यालले मुद्दा जितको भन्दै बधाई दिँदै ५ हजार मागेपछि उनले दिएका थिए। मुद्दा जितको कागजात दमैले अर्यालसँग माग्दा ३५ दिनपछि हात लाग्ने बताएका थिए। पछि उक्त कागजात लिनसमेत २ हजार लाग्ने भन्दै दमैसँग २ हजार रुपैयाँ अर्यालले लिएका थिए।
पछि मुद्दाबारे बुझ्दा आफूले हारेको र उल्टै जितेको भन्दै अर्यालले ठगी गरेको थाहा पाएपछि गत सोमबार दमैले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको कसुरमा जाहेरी दिएका थिए। दमैको जाहेरी आएपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई मंगलबार पक्राउ गरी ठगीको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
हारेको मुद्दामा जितेको भन्दै अतिरिक्त रकम लिएर ठगी गरेका अर्यालले न्यायाधीश शर्माले मुन्टो हल्लाएकाले मुद्दा जितेको भन्ने बुझेकाले दमैलाई जितियो भन्दै अतिरिक्त शुल्क लिएको खुलेको छ। पछि मुद्दा हारेको थाहा पाएपछि जिल्लाको निर्णयविरुद्ध उच्च जानुपर्छ भन्दै दमैलाई थुमथुमाउने प्रयास वकिल अर्यालले गरेका थिए। बहस गर्ने क्रममा विभिन्न शुल्क भन्दै अर्यालले दमैबाट २१ हजार रुपैयाँ पहिल्यै लगिसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।