काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई प्रतिनिधि सभाबाट पास गर्ने कुरामा आफूहरुको सहमति नभएको बताएका छन्। आइतबार प्रतिनिधि सभाबाट बाहिरिने क्रममा पत्रकारहरुलाई संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन्।
माधव नेपालसहितको आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाएको थियो। सोही अनुसार आजैको बैठकमा एमसीसी टेबल भइसकेको छ।
तर, त्यसलाई पारित गर्ने विषयमा भने सहमति नभएको अध्यक्ष नेपालले संकेत गरे। 'एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन। सरकार जे हुन्छ, हुन्छ', उनले भने।
अध्यक्ष नेपालले केही प्रावधानहरुमा संशोधन नगरी एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गर्न नहुने बताउँदै आएका छन्। उनकै जस्तो धारणा माओवादी केन्द्रले पनि राख्दै आएको छ।
तर, सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको जोडबलमा आजको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।