काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विवाद र बिरोधकाबीच सरकारले एमसीसी सम्झौता टेबल गरेको वक्तव्य दिएका छन्।
एमसीसी संसद्मा टेबल भएपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत् यस्तो वक्तव्य सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, 'विवाद र बिरोधकाबीच सरकारले एमसीसी टेबल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।'
उनले एमसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि दमन भएको भन्दै विरोध समेत गरेका छन्। उनले प्रदर्शनमा घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन्।
सत्तारूढ माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा, विद्यार्थी र एमसीसीको विपक्षमा रहेका राजनीतिक दल र संगठनहरूले आइतबार प्रदर्शन गरेका थिए। त्यसक्रममा माओवादीनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलगायत एक दर्जनभन्दा बढी विद्यार्थी नेता घाइते भए।
आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबल गरेका थिए। संसद् बैठक सुरु हुनुभन्दा पहिल्यै बानेश्वर क्षेत्रमा जारी प्रदर्शन बैठक सकिएपछि पनि चलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।