काठमाडौं– नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा आफ्नो पार्टीको धारणा आइनसकेको प्रतिक्रिया दिएका छन्। एमालेविरुद्ध सभामुखले विभेदपूर्ण निर्णय लिएकाले संसद्का सम्पूर्ण गतिविधिमा विपक्षमा रहेको पोखरेलले बताए।
एमाले नेता भीम रावलले संसद्मा बोलेको विषय पार्टीगत धारणा नभइ व्यक्तिगत भएको पोखरेलले टिप्पणी गरे। ‘हामी संसद्मा भइरहेका गतिविधिको विरुद्धमा भएकाले आन्दोलन जारी रहन्छ। हामीमाथि सभामुखले विभेदपूर्ण निर्णय गरेकाले आन्दोलनमा छौं। अहिले हामी आन्दोलनकै अवस्थामा छौ’, पोखरेलले भने।
सत्ता गठबन्धनभित्र एमसीसीका विषयमा कोही समर्थन कोही विरोधमा उत्रिनु नाटक मञ्चनको रुपमा रहेको पोखरेलले व्याख्या गरे। ‘सरकारमा बस्ने, मन्त्री हुने, कोही सांसदले संसदभित्रै मुर्दावाद भनेर नारा लगाउने, सडक तताउने, ढुंगामुढा गर्ने भयो। एमसीसी टेबल गरेर नाटक मञ्चन गर्न ल्यायो भन्ने छ। यो एमसीसी पारित गर्ने उद्देश्यकासाथ आएको होइन भन्ने लाग्छ’ पोखरेलले भने, ‘पारित गर्ने भए राष्ट्रिय सहमति गर्ने तरिकाले आउने थियो। त्यसो गरिएन।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा एमसीसी टेबल गर्न नमान्ने सभामुखले आज कुन आधारमा टेबल गरेको भन्दै पोखरेलले प्रश्न गरे।
‘हिजो केपी ओलीले पेस गर्दा के कुरा थिएन? आज के कुरा थप भएको छ र आज पेस गर्नुभयो? जनताले हेरिरहेका छन्। जनताले सोधिरहेका छन्’ उनले भने, ‘हिजो सरकारले ल्याउँदा टेबल नगर्ने। आज के कुरा परिवर्तन भयो र टेबल गर्नुभयो? आज पार्टीको निर्देशन आउन बित्तिकै टेबल गर्न तयार हुनुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।