काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले एमसीसी टेबल गर्नु राष्ट्रघाती हो भनेर नारावाजी गर्नेलाई आफ्नै नेताविरुद्ध पनि नारा लगाउन चेतावनी दिएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा उनले यस्तो चेतावनी दिएका हुन्। ‘सांसद भीम रावलले संसद्मा जसरी एमसीसी राष्ट्रघाती भन्नु भयो , यो एमाले अध्यक्ष केपी शर्मा ओलीको समयमा संसद्मा पेस भएको हो’, थापाले भने , ‘के उहाँ केपी ओली मुर्दावाद भन्नेर संसद्मा नारा लगाउन सक्नुहुन्छ? ’
त्यस्तै, उनले विरोधमा उत्रेका माओवादी नेताहरुले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध र एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष माधव नेपालविरुद्ध यस्तै नारा लगाउन सक्छन् भनी प्रश्न गरे।
थापाले एमसीसी सम्झौता अब संसद्को अंग भएको र यसको बहस समेत थालनी भएको बताए। ‘संसद्मा अवरोध गरिरहेको नेकपा एमालेले पनि छलफलमा भाग लिएको छ ’ उनले भने ‘आगामी दिनमा संशोधन गर्ने वा संकल्प प्रस्ताव पारित गरेर जान सकिन्छ।’
मतदानबाट एमसीसी टुंगो लाग्छ
थापाले अब बस्ने फागुन १२ गतेको संसद् बैठकमा छलफल गरेर मतदानबाटै एमसीसी टुंगो लाग्ने बताएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले नै पेस गरेको प्रस्ताव आज संसद्मा टेबल भएको थापाले बताए।
‘आज नेपाल सरकाले जुन प्रस्ताव टेबल गरेको छ। यो नेकपा नेतृत्वको सरकार जसको नेतृत्व केपी ओलीले नेतृत्व गर्नु भएको थियो। उहाँको मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव आज टेबल भयो’, थापाले भने।
संसद बाहिर भइरहेको छलफल संसद्भित्र प्रवेश गर्नु सुखद् भएको भन्दै थापाले खुशी व्यक्त गरे। ‘एमसीसीको विषय संसद्मा छलफल हुनु पर्नेमा बाहिर भइरहेको छ। अब संसद्भित्रै छलफल हुने छ। त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो’ थापाले भने, ‘अर्को संसद् बैठक अबरोधकाबीच चल्छ। छलफल हुने छ। मतदानबाट एमसीसी टुंगिने छ।’
आजको छलफलमा एमाले लगायत सत्ता गठबन्धनका नेताहरुले समेत भाग लिएको भन्दै थापाले खुशी व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।