काठमाडौैं– आइतबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची तय भएको छ। सत्ता गठबन्धनका दलबीच बालुवाटारमा एमसीसी पेस गर्ने सहमति भएसँगै प्रतिनिधि सभाको कार्यसूचीमा उक्त सम्झौता टेबल गर्ने प्रस्ताव गरिएको छ।
उक्त प्रस्ताव अर्थ मन्त्रालयका तर्फबाट जनार्दन शर्माले पेस गर्ने कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा सहमति भएको थियो। प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध जारी राख्ने बताउँदै आएको छ। हिजो जारी भएको सम्भावित कार्यसूचीमा समावेशी आयोगको प्रतिवेदन पेस गर्ने मात्र समावेश थियो।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता संसदमा दर्ता गराएका थिए। तत्कालीन समयमा दलहरुका बीचमा सहमति नहुँदा संसद्मा टेवल भई अगाडि बढ्न सकेको थिएन। पछिल्लो पटक अमेरिकाले उक्त सम्झौतालाई छिटो निर्णय गर्न दवाव बढाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका बीचमा छलफल तीव्र पारेका थिए।
केही समय अघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १६ भित्र एमसीसी पारित गर्ने बताएका थिए। अमेरिकाले सोही मितिलाई फलो गर्दै दवाव बढाएपछि केही दिनदेखि राजनीतिको केन्द्रमा एमसीसी रहँदै आएको छ। आजको बैठकमा टेबल भएपछि यो संसदीय प्रक्रियामा जानेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।