काठमाडौं– वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मा जोडिएको छ।
यससम्बन्धी सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे।
सम्झौतापश्चात वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडी सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्तानी गर्न सक्नेछ। यसले वैदेशिक रोजगारीमा अपाङ्गता अथवा मृत्यु भएका कामदारहरुको क्षतिपूर्तीको भुक्तानी, भेण्डर भुक्तानी, लगायत सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनेछ।
सम्झौताअघि सम्पूर्ण भुक्तानी कारोबारहरु चेकमार्फत गरिने गरिन्थ्यो। अब बोर्डको सेवा प्रवाहमा उल्लेख्य सुधार आउनुका साथै पीडित परिवारले सहज रुपमा भुक्तानी प्राप्त गर्न सक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।