काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी अमेरिकाले एमसीसी कम्प्याक्ट पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की दिँदै आएको बताएका छन्। आइतबार सामाजिक सञ्जालमा अमेरिकी दूतावासले सार्वभौम मुलुकका रुपमा एमसीसीबारे नेपालले नै निर्णय गर्ने भनेर दिएको अभिव्यक्तिका सम्बन्धनमा प्रकाशित समाचारहरुको चार बुँदामा खण्डन गरेका छन्।
'नेपाल स्थित अमेरिकी दूतावासले एमसीसी कम्प्याक्ट सम्झौताका बारेमा एउटा सार्वभौम मुलुकका रुपमा नेपालले नै निर्णय गर्ने हो भनेर वक्तव्य निकालेको 'जानकारी' नेपालका मूलधार भनिने पत्रिकाहरुले आज उच्च महत्त्वकासाथ प्रकाशित गरेका छन्। तर निम्न तथ्यहरुले अमेरिकी वक्तब्य छलछाम र धोखा मात्र हो भन्ने स्पष्ट गर्दछ,' चार वटा बुँदा लेख्नुअघि उनले पृष्ठभूमि लेखेका छन्।
श्रेष्ठले एक नम्बरमा लेखेका छन्, 'अमेरिकी राजदूतले एमसीसी कम्प्याक्ट सम्झौता नेपालले पारित गरेन भने अमेरिकाले नेपाललाई आर्थिक नाकाबन्दी लगाउनेछ भनेर नेपालको एक प्रमुख राजनीतिक दलका नेतालाई उनकै निवासमा गएर भनेका थिए।'
अमेरिकी राजदूतले भेटेर र सहायक मन्त्रीले फोनबाट नेपाली नेताहरुलाई यो सम्झौता स्वीकार गरिएन भने चीनका कारणबाट यस्तो निर्णय भएको भन्ने रुपमा लिन्छौ भनेका श्रेष्ठको भनाइ छ।
तीन नम्बरमा श्रेष्ठको भनाइ छ, 'अमेरिकी उपमन्त्रीले भारतीय पत्रिकामार्फत अन्तर्वार्ता सार्वजनिक गरेर नेपालले एमसीसी सम्झौता अस्वीकार गरेमा नेपाल र आमेरिकाबीचको सम्बन्धमा पुनर्विचार गरिनेछ भनेका थिए।'
चार नम्बरमा श्रेष्ठको भनाइ छ, 'नेपालका एक प्रमुख दलका नेतासँगको भिडिओ वार्तामा वाशिङ्टनबाट एमसीसी अमेरिकाका प्रमुख कार्यकारी अधिकृत र फतिमा सुमार सहितको चार जनाको टोलीले एमसीसी कम्प्याक्ट पारित नगरिए यसलाई अमेरिकाले गम्भीर रुपमा लिनेछ भनेका थिए।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।