काठमाडौं– सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा एमसीसी सम्झौता संसद्मा टेबल गर्ने सहमति भएको र अब सबै कुरा संसद्मै राख्ने बताएका छन्।
आइतबार बिहान बसेको सत्तागठबन्धनको बैठकले गरेको समझदारी अर्थ्याउँदै उनले नेपाल लाइभसँग भने, ‘हो, हामीले एमसीसी सम्झौता टेबल गर्ने समझदारी गरेका छौं। अब यसबारे सदनमै छलफल हुन्छ।’
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले नै टेबल गर्नका लागि सम्झौता संसद् सचिवालयमा दर्ता गरिसकेको र त्यहीअनुसार टेबल गर्ने समझदारी गठबन्धनमा बनेको बताए।
‘हामीले यथास्थितिमा सम्झौता अनुमोदन हुनुहुँदैन भन्ने निर्णय पार्टीमा गरेका छौं, त्यसमा एकीकृत समाजवादी अडिग छ’, उनले भने, ‘अहिले टेबल गर्ने समझदारी भएको हो। अब हामी सम्झौतामा परिमार्जन गर्नुपर्ने कुराहरु सदनमै राख्छौं।’
पूर्ववर्ती ओली सरकारले नै सम्झौता टेबल गर्ने प्रस्ताव दर्ता गराएकाले अब अन्य विधेयक दर्ताको बाटो पनि खुल्ने उनले बताए।
एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौता टेबल गर्न दिने निर्णय गरेको थियो। उसको यस्तो निर्णयले माओवादीलाई पनि सम्झौता टेबल गर्न बाध्य पार्ने आकलन भइरहेका बेला आइतबार बिहानको गठबन्धन बैठकमा माओवादी पनि सम्झौता टेबल गर्न राजी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।