फाइल तस्बिर
काठमाडौं– सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ। भर्खरै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।
एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा दलहरुबीच विवाद बढिरहेका बेला बैठक सुरु भएको हो। एमसीसीका विषयमा सहमति हुन नसकेपछि यसअघि शुक्रबार बिहान बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो।
आजको बैठकबाट ठोस निर्णय हुने नेताहरुले बताएका छन्।आजै दिउँसो प्रतिनिधिसभाको बैठक समेत बस्ने भएकाले गठबन्धनको बैठकलाई महत्वका साथ हेरिएको छ।
गत शुक्रबारको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए। सरकारको नेतृत्व गरिरहेको कांग्रेस जसरी पनि पास गराउनुपर्ने पक्षमा रहेको छ। यथास्थितिमा एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र सरकारबाट बाहिरिन तयार रहेको निर्णय गरेको छ।
सतागठबन्धनको दल एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबुल गर्न अवरोध नगर्ने तर यथास्थितिमा एमसीसी अनुमोदन गर्न भने नसक्ने निष्कर्ष निकालेको छ।
जनता समाजवादी पार्टीले भने ठोस निर्णय लिन सकेको छैन। अध्यक्ष उपेन्द्र यादव माओवादीलगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।