काठमाडौं– राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसिसी)को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताएकी छन्।
राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले विपक्षी दलका केही नेताहरु गठबन्धन भत्काउन लागि परेको बताएकी हुन्। ‘विपक्षी दलका केही नेताहरु सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटेर एमसीसी पारित गर्ने र गठबन्धन भत्काउने प्रयास गर्दैछन्, यसमा गठबन्धन सचेत हुनु जरुरी छ,’ उनको भनाइ थियो।
दुई/दुई पटक संसद् विघटन गरेको एमालेले पाँच दलीय गठबन्धन भत्काएर संसद् विघटनको औचित्य सावित गर्न खोजेको उनको भनाइ छ। एमसीसीका बारेमा यथार्थ कुरा जनतामाझ लैजानुपर्ने उनले बताइन्।
सम्मेलनले लालबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ। सम्मेलनले सात सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको जनमोर्चाका नेता रोशन दानीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।