काठमाडौं- नेपाल ओमानमा जारी आईसीसी टी२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल नजिक पुगेको छ।
शनिबार भएको दोस्रो खेलमा फिलिपिन्समाथि १३६ रनको विशाल जित निकाल्दै नेपालले सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको हो।
फिलिपिन्समाथिको जितसँगै जारी प्रतियोगितामा अपराजित रहेको नेपाल शीर्षस्थानमा उक्लिएको छ। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो।
नेपालले अब अन्तिम खेल सोमबार क्यानाडासँग खेल्ने छ। यस्तै, ओमानले फिलिपिन्सविरुद्ध खेल्ने छ। यता, दोस्रो स्थानमा भने क्यानाडा यथावत् रहेको छ। उसले पहिलो खेलमा फिलिपिन्सलाई ११८ रनले पराजित गरेको थियो।
समान अंक रहेपनि ओमान अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। ओमानको नेटरन रेट -०.५६३ रहेको छ भने दोस्रो स्थानको क्यानडाको +२.५१२ रहेको छ। ओमान शनिबार नै भएको खेलमा क्यानाडालाई ९ विकेटले पराजित गरेको छ। फिलिपिन्सलाई फराकिलो अन्तरले हराउँदा र नेपाल विजयी हुँदा ओमान सेमिफाइनलमा पुग्नेछ ।
क्यानडासँगको अन्तिम खेलमा विजयी भएमा नेपाल समूह विजेता रुपमा सेमिफाइनल खेल्नेछ। पराजित हुँदा पनि नेटरन रेटको आधारमा सेमिफाइनल खेल्ने सम्भावना उच्च छ। नेपालको नेटरन रेट हाल +४.३७५ रहेको छ।
समूह ‘ए’ मा आयरल्यान्ड, युएई, बहरान र जमर्नी छन्। पहिलो दिन आयरल्यान्ड युएईसँग १८ रनले पराजित भएको थियो। समूह ‘ए ’बाट युएई विजेता र आयरल्यान्ड उपविजेता रुपमा सेमिफाइनल खेल्ने उच्च सम्भावना छ। नेपाल समूह विजेता बनेको खण्डमा आयरल्यान्ड र उपविजेता बनेको खण्डमा युएईसँग सेमिफाइनलमा सामना गर्नुपर्ने समिकरण बन्न सक्छ। फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकप खेल्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।