काठमाडौं- घरेलु टोली ओमानले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटमा क्यानडामाथि जित हात पारेको छ। शनिबार भएको खेलमा घरेलु टोली ओमानले क्यानडामाथि ९ विकेटको सानदार जित हात पारेको हो।
जितसँगै ओमानको समूह ‘बी’ बाट नेपाल र क्यानडासँगै सेमिफाइनल पुग्ने बाटो खुल्ला भएको छ। १ सय ५६ रनको लक्ष्य ओमानले १८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। ओमानको जितमा कप्तान जिशान मकसुदले सर्वाधिक ७६ रनको अविजित इनिङ्स खेले। उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।
यता, ओपनर काश्याप प्रजापतिले ७४ रनको इनिङ्स खेलेका थिए। उनले ५६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। दोस्रो विकेटका लागि जिशान र काश्यापले १ सय २९ रनको शतकीय साझेदारी गरे। क्यानडाका साद विन जाफरले जतिन्दरसिंहलाई ७ रनमा आउट गरे।
त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो। क्यानडाका रविन्द्रपाल सिंहले सर्वाधिक ४६ रन बनाए। उनले ३६ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
रयान पठान २६, जफार २०, हम्जा तारिक र डिलन हेलिगरले २१–२१ रन बनाए। ओमानका फैज बटले सर्वाधिक २ विकेट लिए। बिलाल खान, कलिमुल्लाह र जिशान मकसुदले १–१ विकेट लिए।
नेपाल समूह ‘बी’ मा २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ। नेपालको रनरेट + ४.३७५ छ। क्यानडा २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ। क्यानडाको नेटरनरेट + २.५१२ छ। समान खेल र नतिजाका साथ ओमान २ अंक जोड्दै तेस्रो स्थानमा छ। ओमानको नेटरनरेट -०.५६३ छ।
नेपालले अन्तिम खेल सोमबार क्यानडासँग खेल्नेछ। उक्त खेलमा विजयी भएमा समूह विजेता रुपमा सेमिफाइनलमा पुग्नेछ। पराजित भएमा नेटरनरेटमा निर्भर रहनेछ। ओमानले सोमबार फिलिपिन्ससँग खेल्नेछ। फिलिपिन्सलाई फराकिलो अन्तरले हराउँदा र नेपाल विजयी हुँदा ओमान सेमिफाइनलमा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।