काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले ललितपुर महानगरपालिका- २७ सुनाकोठीको बालकुमारी मन्दिरको बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन्।
शनिबार सुनाकोठीको बालकुमारी मन्दिरको चोरी भएको बालकुमारी माताको मूर्ति पुनःस्थापना, क्षमा पूजा र अनुसन्धानमा सम्लग्न पदाधिकारीलाई सम्मान कार्यक्रममा गृहमन्त्री खाणले सार्वजनिक सम्पत्तिको सुरक्षामा गतिशील भएर लाग्न ललितपुरको प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए।
‘सार्वजनिक सम्पत्तिको खोजिनिती गर्न ललितपुर प्रहरी अझै गतिशील भएर लागोस् । मूर्ति चोरी गर्ने चोरहरु कारबाहीमा परुन, म गृहमन्त्रालयको तर्फबाट उहाँहरूलाई निर्देशन दिन चाहन्छु,’ गृहमन्त्री खाणले भने, ‘मन्दिरको सुरक्षाका लागि मन्दिर व्यवस्थापन समितिका साथीहरूसँग बसेर ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले कार्ययोजना बनाउनुहोस्।’
उनले मूर्ति चोरी हुने वातावरण नबनोस्, भन्ने सर्तकताका लागि र आवश्यक व्यवस्थापनका लागि पनि प्रशासन र सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिए।
माघ ९ गते हराएको बालकुमारी माताको मूर्ति १९ दिनपछि माघ २८ गते भेटिएको थियो।
गृहमन्त्री खाणले नेपाल विविधताले भरिपूर्ण मुलुक भएको भन्दै विविधताबीच एकताका साथ अगाडि बढ्नु पर्ने बताए। उनले भने, ‘नेपाल विविधताले भरिपूर्ण छ । जातीय विविधता, धार्मिक विविधता, सास्कृतिक विविधता, हावापानीमा विविधता नेपालमा छ । यो विविधताबीच हामी सबै एकताका साथ अगाडि बढ्नुपर्छ।’ उनले नेपालका परम्परा, रितिथिति र स्थापित मठ मन्दिरहरूले नेपालीहरूलाई सदैव एकतामा बाँधेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।