काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन्।
'लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो। थप सजग र सचेत भएर लोकतन्त्रको संस्थागत अभ्यास सुनिश्चित गर्न सक्दा नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु' उनले भनेका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ का अवसरमा शुभकामना दिँदै सभामुख सापकोटाले लोकतन्त्र सिद्धान्तसँगै चिन्तन, जीवन पद्धति, व्यवहार र पुस्तान्तरणको महत्वपूर्ण संस्कारसमेत भएको बताएका छन्।
उनले यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहनु अनिवार्य हुने बताएका छन्।
लोकतन्त्रको समीक्षा र यसको अभ्यासमा आधारित रहने उल्लेख गर्दै सभामुखले संविधानको मर्म र भावना अनुसार अघि बढ्न एवं लोकतन्त्रको उन्नत अभ्यासका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको संवर्धनका लागि विभिन्न समयमा भएका सङ्घर्षमा जीवन आहुति दिएका सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।
सभामुख सापकोटाले सन्देशमा भनेका छन्, 'हामी सात दशक यताका सबैखाले सङ्घर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको साँचो अर्थमा कार्यान्वयनको चरणमा छौँ। यस क्रममा हाम्रा सामु थुप्रै चुनौती देखापरेका छन्। चुनौतीको सामना गर्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।