काठमाडौं- राप्रपा (नेपाल) ले अध्यक्ष लाक्पा तामाङलाई साधारण सदस्यबाट निष्काशन गरेको छ। पार्टीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष तेजराज भुजेलले आफ्नो अध्यक्षतामा बसेको पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठकले अध्यक्ष तामाङलाई कारबाही गरेको जानकारी दिएका हुन्।
पार्टीको २१ सदस्यीय कार्यसमितिमध्ये १५ सदस्यले कारबाही गर्ने निर्णय गरेको हो। पछिल्लो समय पार्टी हित तथा विधान विपरीत कार्य गरेको भन्दै उनलाई कारबाही गरिएको भुजेलले बताए।
संयोजक राणाले पार्टीको वैचारिक दृष्टिकोण संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र भएकामा अध्यक्ष तामाङले केन्द्रीय कार्यसमितिको बैठक नराखी कमल थापालाई अध्यक्ष बनाएर पार्टीले गणतन्त्रको सिद्धान्त अवलम्बन गरेको अभिव्यक्ति दिएको घटना आश्चर्यजनक भएको तथा नियमसङ्गत नभएको बताए। उनले यस घटनाप्रति कानुनी उपचार खोज्ने क्रममा निर्वाचन आयोगमा निवेदनका साथै पाटनस्थित उच्च अदालतमा कार्य समितिका १५ सदस्यले मुद्दा दर्ता गरिसकेको जानकारी दिए।
गत मंसिरमा राप्रपाको अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका कमल थापाले हालै सो पार्टी परित्याग गरी राप्रपा (नेपाल) को नेतृत्वमा आफू रहेको भन्दै यही फागुन ७ गते शनिबार पत्रकार सम्मेलनको तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।