काठमाडौं– नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताएका छन्।
गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको उनको भनाइ छ। गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धारा अनुसार एमालेको भूमिका कहाँ हुन्छ सोही अनुसार भूमिका निर्वाह गरिने उनले बताए।
‘अहिले सरकार एमालेको प्राथमिकता होइन। एमालेको प्राथमिकता चुनाव हो। वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकता हो। एमालेको प्राथमिकता सत्ता गठबन्धन होइन, प्रधानमन्त्री, मन्त्री होइन’, शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन। यसमा पर्याप्त मात्रामा क्रंक्रिटहरु थिएनन्। सिमेन्टहरु थिएन। छडहरु मिलाएको थिएन। रसायन मिलेको थिएन। त्यसकारण यो टुट्नु त अनिवार्य छ। यो त एकदमै अप्राकृतिक ढंगले मात्रै जोडिएको हो यो टुट्नु अनिवार्य छ।’
उनले एमसीसीको सम्बन्धमा एमालेले धारणा बनाउनुअघि एमालेले उठाइरहेको मागको सम्बोधन हुनुपर्ने बताए। एमालेको माग अनुसार १४ जना सांसदहरुलाई कारबाही गरिनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।