काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमसीसी सम्झौतालाई संशोधनबिना संसद्बाट पारित गर्न नदिने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतामा राष्ट्रघात हुने खालका पक्षहरु भएकाले संशोधन नगरी संसद्बाट पारित गर्न नदिने बताएका हुन्।
एमसीसी सम्झौता केवल करार सम्झौता मात्रै भएकाले नेपालको संसद्ले अनुमोदन गर्नु आवश्यक नरहेको उनले बताए। यो सम्झौतालाई संसद्ले अनुमोदन गरेमा गलत नजिर बस्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरु नै प्रभावित हुने उनको जिकिर छ।
‘गठबन्धनलाई कुनै ठेगानले छुँदैन। एमसीसी मुद्दा राष्ट्रकै विवादको मुद्दा हो। यो कुनै गठबन्धनको मुद्दा होइन। सिंगो नेपालको मुद्दा हो यो। नेपाली जनताको मुद्दा हो यो’, उनले भने, ‘सम्पूर्ण नेपाली जनताको अभिमत अनुरुप यो सवालमा टुंगोमा पुग्नुपर्छ। तर, जहाँसम्म गठबन्धनको कुरा छ, गठबन्धन भनेको निश्चित सवालमा सहमतिको आधारमा बनेको हो। यो गठबन्धनलाई एमसीसीले छुनुपर्ने कुनैपनि आवश्यकता म देख्दिनँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।