काठमाडौं– नेकपा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाक्रीले मन्त्रिपरिषद्मा रहँदासम्म प्रधानमन्त्रीको धारणा नै आफ्नो पनि हुने बताएकी छन्।
शुक्रबार संसद् बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री झाक्रीले आफू मन्त्रिपरिषद्को सदस्य रहँदासम्म एमसीसीलगायत अन्य विषयमा प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त नहुने बताएकी हुन्।
‘म मन्त्रिपरिषद्को सदस्य भएको कारणले अहिले मैले प्रधानमन्त्रीले राखेको धारणाभन्दा फरक भएर धारणा राख्न उपयुक्त पनि हुँदैन’, उनले भनिन् ‘जतिबेलासम्म म यो मन्त्रिपरिषद्को सदस्य हुन्छु मेरो यही धारणा हो।’
झाक्रीले आफ्नो पार्टीको धारणा भने भोलिको बैठकपछि आउने बताइन्। उनले नेपालको आन्तरिक राजनीतिमा अनावश्यक ढंगले किचलो हाल्न एमसीसी ल्याइएको भन्दै राष्ट्रको हित र सरकारको विश्वसनीयताका लागि त्यस्ता विषयबाट सचेत रहनुपर्ने बताइन् ।
‘नेपालमा अनावश्यक ढंगले किचलो हाल्न एमसीसी ल्याइएको ह’, उनले भनिन् ‘यो चाहेर वा नचाहेर बनेको गठबन्धन हो। यस्ता इस्यूहरूमा पहिलादेखिका सरकारले गरेको दायित्व छ।’
उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध भएकाले यसलाई सोही रुपमा सम्बोधन हुनेगरि समाधान गर्नुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।