चितवन– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन्।
नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको बताए। तर, गठबन्धन टुट्नु पर्छ भनेर कांग्रेसले नभनेको उनको दाबी छ।
उनले सत्ता गठबन्धन र एमसीसी फरक विषय भएकाले एमसीसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताए।
'गठबन्धनको विषय एउटा हो, एमसीसीको अर्को विषय हो। नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो? संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन्। किन हिच्किचाहट भएको छ?', महतले भने।
सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको महतको भनाइ छ। एमसीसीका विषयमा दलहरूको स्पष्ट धारणा आउनुपर्ने उल्लेख गर्दै उनले भने, 'संसद्मा एमसिसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु पर्यो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।