काठमाडौं– बालुवाटारमा निर्णायक भन्दै बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रले एमसीसी टेबल गर्ने समय केही दिन सार्न प्रस्ताव गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो स्थायी कमिटी बैठकसम्म पर्खिदिन आग्रह गरेका छन्। ‘भोलि माओवादीको स्थायी समिति बैठक भएकाले टेबल गर्न निर्णय केही दिनका लागि सार्न उपयुक्त हुन्छ,’ उनले बैठकमा प्रस्ताव गरे, ‘थप केही दिन दलहरुका बीचमा सहमति गर्न सके झनै स्वीकार्य हुनसक्छ।’
फागुन १६ गतेभित्र अनुमोदन गर्नुपर्ने आफैले दिएको समयमा दाहालले केही दिनदेखि फरक फरक प्रस्ताव राखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्दै अरु छलफल विस्तारै गर्न आग्रह गरेका थिए। ‘अहिले संसदमा आजै टेबल गरौं अरु छलफल विस्तारै गरौंला,’ उनले प्रस्ताव गरे, ‘सबैका फरक मत संसदमै राखौ।’
तर दाहालले आफ्नो पार्टीको निर्णयका लागि देउवासँग समय मागेका थिए। बैठकमा सवैलेआफ्ना कुरा राखेको र प्रधानमन्त्रीले पनि आफ्नो कुरा राखेर आजको बैठक सकिएको नेपाली कांग्रेसका एक नेताले बताए। अर्को बैठक आइतबार बस्नेगरी उठेको ती नेताले बताए। फागुन ४ गते संसद बैठक अघि पनि दाहालले केही दिन छलफल गर्न समय माग गरेका थिए।
उनले संसद बैठक अघि संसदीय दलको बैठक राखेर एमसीसी अघि बढाएमा आफूहरु सरकारबाट बाहिरिनुपर्ने निर्णय गरेर बालुवाटार पुगेका थिए। दाहालले देउवालाई एमालेसहित सवैलाई मनाएर जानुपर्ने प्रस्ताव राखेपछि प्रधानमन्त्री असन्तुष्ट भएका थिए।
हिजो बेलुका पनि गठबन्धनमा माओवादीका अध्यक्ष दाहालले यस्तै प्रस्ताव अघि सारेका थिए। लगत्तै प्रधानमन्त्री प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोटा पुगेका थिए। दुई नेताहरुका बीचमा एमसीसी र गठबन्धनका बरेमा लामो छलफल भएको थियो। एमालेसँग पछिल्ला दिनहरुमा बाक्लै छलफल गरिरहेको नेपाली कांग्रेस एमसीसीलाई छिटै संसदमा लैजाने पक्षमा रहेको छ। तर सत्ता गठवन्धनका अरु नेताहरु यसलाई रोक्ने पक्षमा छन्। खासगरी माओवादी यसको विपक्षमा रहेको छ।
सरकारमै रहेको एकीकृत समाजवादी भने अलि नरम रहेको छ। एकीकृत समाजवादीले पनि आफ्नाे पार्टीकाे केन्द्रीय कमिटीकाे बैठकसम्म कुर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।