काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ। बिहीबार राति देउवा आफ्नो सरकारी निवास बालुवाटारबाट बालकोट पुगेका थिए।
सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका हुन्। देउवाले बालकोटमा ओलीसँग करिब डेढ घण्टा छलफल गरेका थिए। तर, बाहिरिने क्रममा कुनै प्रतिक्रिया दिन मानेनन्।
यसैबीच, ओलीले पनि कुनै प्रतिक्रिया दिएनन्। ओलीको सचिवालयले देउवासँग भेटवार्ता भएको तर मिडियासँग बोल्ने कुनै विषय नभए बताएको छ। छलफलबारे ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले भने, ‘हामीले के कुरा भो भनेर सोध्यौं, अध्यक्षज्यूले कुराकानी भयो, तर मिडियामा भन्ने जस्तो खास केही छैन भन्नुभो।’
ओली भेट्न देउवा श्रीमती आर्जु राणासहित बालकोट पुगेका हुन्। फर्किँदा कुनैपनि प्रतिकृया नदिएपनि समग्र सदन अवरोध खोलेर एमसीसी सम्झौता टेबल गर्ने बिषयमा छलफल भएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।