काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाटै टुंगो लाग्ने दिशामा छलफल भइरहेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकपछि बाहिरिने क्रममा उनले एमसीसीबारे फागुन १६ भित्रै निष्कर्षमा पुग्नेगरी गठबन्धनमा छलफल भइरहेको बताएका हुन्।
‘यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयसीमा तोकेर पत्र पठाउनु भएको छ। उक्त पत्रमा तोकिएको फागुन १६ भित्र नै एमसीसीबारेमा निष्कर्षमा पुग्ने गरि गठबन्धनमा छलफल भइरहेको छ,’ उनले भने।
बालुवाटारमा एमसीसीबारे सहमति खोज्न सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक बसेको थियो। तीन घन्टा बसेको बैठकमा एमसीसीका विषयमा सबै दलले आफ्नो कुरा राखेको कार्कीले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।