काठमाडौं– एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन दलहरुबीच तीव्र मतभेद छ। सडकमा एमसीसीको विरुद्धमा आन्दोलन भइरहेको छ।
बिहीबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न केही कलाकार खुमलटार पुगेका थिए। प्रचण्डसँगको भेटमा कलाकारहरूले खुलेर कुराकानी गरेका थिए। सोही क्रममा प्रचण्डले एमसीसीको विषयमा कलाकारहरूको धारणा बुझ्ने काम गरेका थिए।
‘उहाँ(प्रचण्ड)ले हामीसँग एमसीसीको विषयमा तपाईंहरुको धारणा के हो भनेर सोध्नुभयो,’ भेटमा सहभागी गायक राजेशपायल राईले भने, ‘हामीले जनताको भावना अनुसार अघि बढ्नुस् भन्ने आग्रह गर्यौं।’ प्रचण्डको जिज्ञासामा आफूहरुले अहिले जनताहरुले विरोध प्रदर्शन गरिरहेको भन्दै देशका हितभन्दा बाहिर गएर कुनै काम नगर्न आग्रह गरेको उनले बताए। ‘पास गर्ने हो भने जनतालाई बुझाएर मात्रै गर्नुहोला भन्यौं,’ उनले भने, ‘देशका लागि गम्भी हुनुहोला भनेर हामीले भन्यौं।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग आज गायक राजेशपायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल, गायिका कल्पना दहालले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।