काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा गायक राजेशपायल राईले माओवादीले आफ्नो घर जलाएको प्रसंग सम्झाएका छन्। बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा राईले प्रचण्डलाई तत्कालिन माओवादी द्वन्द्वका क्रममा आफ्ना घर जलाएको प्रसंग स्मरण गराएका हुन्।
करिब दुई हप्ताअघि नै गायक राईसँग भेटन खोजेका प्रचण्डलाई भेट्न आज उनी खुमलटार पुगेका थिए। त्यत्ति बेला आफू बाहिर भएकाले भेट्न नपाएको र अहिले काठमाडौंमा आएपछि भेट्न गएको राईले बताए। उनी भन्छन्, भेटघाटमा खोटाङको घर जलेको घटना सम्झाएको थिएँ। उहाँहरुले समाजका लागि जे गर्नु भएको थियो, राष्ट्रको परिवर्तनका लागि भएको त्यो घट्नामा हामी पनि पिडित भएको कुरा सम्झाएको थिएँ।’
यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने राईको गीतहरु सुन्ने गरेको बताएको राईले उल्लेख गरे। सँगै अहिलेको राजनीतिक परिस्थिति र एमसिसीको विषयमा पनि केही कुराकानी भएको राई बताउँछन्।
‘केही राजनीतिक विषयमा पनि कुरा भए,’ राईले भने, ‘मैले गीतसंगीतमा पनि राजनीतिमा जस्तै केही समस्याहरु भएको र त्यसको समाधानका लागि उच्च तहबाटै काम हुनुपर्छ भनेको छु।’
सामाजिक सञ्जालमा राई माओवादी केन्द्रमा जोडिन लागेको भनिए पनि राईले त्यसमा सत्यता नभएको प्रष्ट पारे। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आझैं अन्य कलाकारलाई पनि भेटेका थिए। उनले हास्यकलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप लामिछाने, अभिनेत्री करिश्मा मानन्धरलगायत कलाकारसँग पनि भेटवार्ता गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।