काठमाडौं– एमसीसी सम्झौता अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन दलहरुबीच सहमति हुन नसकेका बेला नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार साँझ बालुवाटारमा राजदूत बेरीले प्रधानमन्त्रीसँग भेट गरी एमसीसीका विषयमा छलफल गरेका हुन्। गठबन्धनका दलबीचमा एमसीसी अनुमोदन गर्ने विषयलाई लिएर तीव्र मतभेद रहेकै बेला अमेरिकी राजदूतले प्रधानमन्त्रीलाई भेटेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार भेटवार्तामा भएको छलफलका विषयमा प्रधानमन्त्रीले आज बस्ने भनिएको गठबन्धन दलहरुको बैठकमा जानकारी दिनेछन्।
उनका अनुसार भेटवार्ताका क्रममा गठबन्धनमा एमसीसी कार्यान्वयनको विषयमा देखिएको विवाद र एमसीसीलाई लिएर सडकमा भइरहेको प्रदर्शनका विषयमा राजदूत बेरीले चासो राखेका थिए। प्रधानमन्त्री देउवाले भने एमसीसी सहमतिका आधारमा अनुमोदनका लागि आफू प्रयासरत रहेको भन्दै समयसीमाका विषयमा के गर्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए।
एमसीसी परियोजना बुधबार नै प्रतिनिधिसभाको बैठकमा टेबुल गर्ने सरकारको तयारी थियो। तर, सत्ता साझेदार नेकपा माओवादी केन्द्रको निर्णयले बुधबार भने टेबुल हुन सकेको थिएन्। बिहीबार बिहानै पनि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। भेटमा एमसीसीका विषयमा नै कुराकानी भए पनि सहमति भने हुन नसकेको नेताहरूले बताएका छन्।
आजै बेलुका प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक राखेका छन्। आजको बैठक निर्णायक हुने नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।