काठमाडौं– द्वन्द्वकालमा सेनाद्वारा अपहरणपछि हत्या गरिएकी मैना सुनारकी आमा देवी सुनारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नपाएको भन्दै पत्र लेखेकी छन्। उनले आफ्नी छोरीको हत्यामा संलग्न कहिले पक्राउ पर्छन् भन्दै पत्र लेखेकी हुन्। जिल्ला अदालतबाट दोषी ठहर भएका व्यक्ति हालसम्म पक्राउ नपरेकाले पत्र लेख्नुपरेको उनको भनाइ छ।
‘मैले तपाईंसँग भेट गर्न खोजेकी थिएँ, तर हालसम्म भेट गर्न सकेकी छैन। त्यसैले मेरी छोरी मैना सुनारको मुद्दामा अदालतले गरेको फैसलालाई सम्मान गरी छोरीका हत्यारालाई पक्राउ गर्न र हामी सबैलाई सुरक्षा र न्यायको प्रत्याभूति गरी विधिको शासनप्रति तपाईंको प्रतिबद्धताका लागि यो पत्र लेख्दैछु,’ उनले पत्रमा भनेकी छन्, ‘मेरी छोरीको मुद्दाको विषयमा तपाईंलाई जानकारी होला भनी आशा व्यक्त गर्छु। तपाईंले बिर्सिसक्नु भएको भए म संक्षेपमा स्मरण गराउँछु। मेरी १५ वर्षीया छोरीलाई तत्कालीन शाही नेपाली सेनाले २०६० फागुन ५ गते घरबाट पक्राउ गरेर लगेको थियो। त्यसपछि उनलाई बेपत्ता बनाइयो। २०६३ सालमा काभ्रे जिल्लाको पाँचखालमा रहेको वीरेन्द्र शान्तिसेना तालिम केन्द्रको प्रांगणबाट मेरी छोरीको भौतिक अवशेष उत्खनन भएको थियो।’
नेपाली सेनाको आन्तरिक दस्तावेजले आफ्नी छोरीलाई यातना दिएर हत्या गरेको पुष्टि भएको र यही आधारमा जिल्ला अदालत काभ्रेले संलग्न रहेका केही व्यक्तिलाई सजायसमेत सुनाएको तर उक्त फैसला कार्यान्वयन हुन नसकेकाले आफूले पत्र लेख्न परेको दावी उनले गरेकी छन्।
के थियो मुद्दा?
माओवादी द्वन्द्वका बेला काभ्रे खरेलथोककी १५ वर्षीया किशोरी मैनालाई पक्राउ गरी सैनिक ब्यारेकमा लगेर हत्या गरिएको थियो। जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले ३ वैशाखमा सुनाएको फैसलामा तीनै जनालाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैदको सजाय हुने भनिएको छ।
मैनालाई २०६० फागुन ५ मा पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका सैनिकले घरमै गएर पक्राउ गरेका थिए। उनलाई पक्राउ गर्दा तत्कालीन सहसेनानी निरञ्जन बस्नेतले चलाएको गाडीमा राखेर सैनिक तालिम केन्द्रमा ल्याइएको थियो। मैना हत्याको अभियोग लागेका चार जनामध्ये बस्नेत सेनामै कार्यरत छन्।
सेनाले पक्राउ गरेर बेपत्ता पारेपछि मैनाकी आमा देवी र बाबु पूर्णबहादुरले विभिन्न निकायमा निवेदन दिएका थिए। त्यसपछि सेनाले २०६१ वैशाख ५ मा मैनाका परिवारलाई उनको मृत्यु भएको खबर दिएको थियो। २०६२ मंसिर २१ मा मैनाकी आमा देवीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा चारै जनाविरुद्ध जाहेरी दिएकी थिइन्। द्वन्द्वका समयमा सेनाविरुद्धको उजुरी प्रहरीले दर्ता नगरेपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।