काठमाडौं– तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित उनको मन्त्रिपरिषद्मा रहेका एमाले नेताविरूद्ध नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले अख्तियारमा उजुरी दिएको छ।
बिहीबार बिहान अनेरास्ववियूको टोली टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पुगेर ओलीसहितका उनको क्याबिनेटका तत्कालीन मन्त्रीहरूविरूद्ध उजुरी दिएको हो।
एसनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केपी शर्मा ओली सरकारको पालमा भएका अनियमितताको छानबिन गर्न माग राख्दै आफूहरूले अख्तियारमा उजुरी दर्ता गरेको जानकारी दिए।
‘नीतिगत भ्रष्टाचार भएको भन्दै हामीले केपी शर्मा ओली, पद्मा अर्याल, भानुभक्त ढकाल, योगेश भट्टराई, ईश्वर पोखरेल लगायतको नाममा उजुरी दिएका हौं,’ उनले भने, ‘कानुनी रूपमा छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने माग हाम्रो रहेको छ।’
अनेरास्ववियूले निष्पक्ष रूपमा भ्रष्टाचारको छानबिन हुनुपर्ने माग पनि गरेको हो।
एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरूविरुद्ध अख्तियारमा उजुरी दिन पुगेका अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित।
अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरित उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख गरिएको छ।
उक्त प्रकरणमा तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल लगायतलाई पनि कारबाहीको माग गरिएको छ। त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि ओम्नीसँगको अनियमितता प्रकरणमा मुछिएकाले उनीहरुमाथि छानबिन गरी भ्रष्टाचारमा कारबाही गर्न माग गरिएको छ।
त्यसैगरी, भिजिट नेपाल २०२० को नाममा राज्यकोषको करोडौं रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईमाथि पनि छानबिनको माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।