काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्बाट पारित हुन पनि सक्ने र नहुन पनि सक्ने बताएका छन्। यद्यपि उनले, आफू सम्झौता पारित गराउन लागिपरेको बताए।
बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)’को लोर्कापण गर्दै प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउने कांग्रेसको सर्वसम्मत् निर्णय अनुरुप आफू लागि परिरहेको बताए।
‘एमसीसी पास गराउन हामीले एकमतले निर्णय गरेका हौँ। त्यसमा लागिराखेको छु। फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन। तर, राष्ट्रको हितमा छ भन्ने कुरा सत्य कुरा हो। हामीले भन्नुपर्छ यो, सत्य हो।’
प्रधानमन्त्री देउवाले कांग्रेसका नेता कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको गुनासो गरे। पार्टीले राम्रो राम्रो काम गरिरहेको भएपनि जस अरुलाई जाने ईर्ष्यका कारण पार्टीको प्रचार नगर्ने गरिएको उनको भनाइ छ।
देउवाले पार्टीले गरेको राम्रा कामको प्रचार प्रसार पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए। प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस डराउन नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।