काठमाडौं– अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनसँ (एमसीसी) सम्झौतालाई लिएर यतिबेला दलहरू विभाजित छन्। सत्ता सहकार्य गरिरहेका दलहरु नै यसमा एकमत छैनन्। जसले गर्दा गठबन्धनको भविष्य पनि अन्योल भइरहेको छ।
बुधबार मात्र सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सम्झौताविरुद्ध प्रदर्शन गरे। बिहीबार गठबन्धनको 'निर्णायक बैठक' बोलाइएको छ।
बिहीबार नै बालुवाटारमा भएको एक कार्यक्रममा भने कांग्रेस नेताहरूले फेरि पनि एमसीसीका विषयमा आफ्नो धारणा प्रष्ट पारेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरदेखि महामन्त्री गगन थापासम्मले यसबारे कांग्रेसको धारणा फेरि प्रष्टाएका हुन्।
कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक नेपाली कांग्रेसको संक्षिप्त इतिहास ( सिद्धान्त तथा नीतिको परिचयसहित)को लोकार्पण कार्यक्रममा देउवाले एमसीसी पारित गर्नुपर्ने बताए।
'एमसीसी पारित गर्न हामी लागेका छौं। पारित गर्न पार्टीले निर्णय गरिसकेको छ', देउवाले भने। उनले नेपालमा जति पनि परिवर्तन भए ती सबै कांग्रेसकै कारण भएको समेत दाबी गरे।
कार्यक्रममा महामन्त्री थापाले कसले के भन्यो भन्दा पनि कांग्रेस आफ्नो दायित्वबाट च्युत हुन नहुने बताए। 'क्षणिक लाभका लागि बोली फेर्न हुँदैन। बालुवाटार एक र बालकोट अर्को बोल्ने कांग्रेसले गर्दैन', थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।