गौर- नेपाली चलचित्र जगतका सुपरस्टार राजेश हमाल पनि मौलापुरमा आयोजना हुन गइरहेको मधानी महायज्ञमा सहभागी हुने भएका छन्।
यही फागुन १७ गते मौलापुर नगरपालिकाको आयोजनामा मधानी महायज्ञ आयोजना हुन लागेको हो। रौतहट आसपासको क्षेत्रमा मनाईने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्ने गरेको छ।
शिवरात्रीको विशेष अवसरमा आयोजना हुने मधानी महायज्ञको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।
महायज्ञमा नेपालका विशिष्ठ श्रेणीका राजनीतिक व्यक्तित्व सहभागी हुने देखि नेपाली तथा भारतीय चर्चित कलाकारहरुको सांस्कृतिक प्रस्तुति रह्ने आयोजकले जनाएको छ। महायज्ञमा भोजपुरी सुपरस्टार खेसारीलाल यादव र रानी चटर्जीसँगै नेपाली तथा भारतीय कलालकार सहभागी हुने बताइएको छ।
२ हजार वर्षभन्दा पुरानो पुरातात्त्विक महादेव मन्दिर केही वर्षअघि मौलापुर ५ पतौरास्थित स्थानीयले बारी खन्ने क्रममा भेटेको थियो।
लगत्तै पूर्वमन्त्री प्रभु साहको पहलमा पुरातत्त्व विभागद्वारा उक्त मन्दिरको उत्खनन गर्दा सुरुमा महादेव मन्दिर १३औं सताब्दी भन्दा पहिलेको रहेको ठहर गरिएको थियो। पछि मन्दिरमा विभागले गौतम बुद्धको जन्मभूमि लुम्बिनी तिलौराकोटमा भेटिएका अवशेषसंग मिल्दो अवशेष भेटेपछि मन्दिर २ हजार वर्षभन्दा पुरानो रहेको अनुमान गर्दै थप उत्खनन जारी राखेको छ।
मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पहलमा उक्त महादेव मन्दिरलाई ब्यवस्थित गरी महाशिवरात्रीको अवसरमा पछिल्लो तीन वर्षदेखि मधानी महायज्ञ भब्यताका साथ आयोजना हुँदै आएको छ। मधानी महायज्ञको पहिलो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो भने गत वर्ष तत्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेल प्रमुख अतिथिका रुपमा सहभागी थिए।
महायज्ञको अवसरमा मौलापुरमा पुरातात्त्विक महादेव मन्दिरमा सर्लाही, बारा, रौतहटलगायत सीमावर्ती भारतीय क्षेत्रबाट हजारौँ भक्तजन जल चढाउन आउने गर्दछन्। कतिपय स्थानीयवासीले पुर्ण निष्ठाका साथ भारतबाट गंगा जल ल्याएर उक्त मन्दिरमा चढाउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।